काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीमा विवाद उत्कर्षमा पुगेपछि जिल्ला अध्यक्ष परिवर्तन गरिएको छ । ५ महिना अगाडि जिल्ला संयोजक बनाएका प्रकाश ज्ञवालीलाई हटाएर बुद्धिप्रसाद शर्मालाई रुपन्देहीको संयोजक बनाइएको हो ।
प्रदेश कमिटी सदस्य शर्मालाई लुम्बिनी संयोजक बनाइएको लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले जानकारी दिए ।
जिल्ला संयोजक ज्ञवाली र सैन मैना संयोजक दामोदर खत्रीबीच विवाद बढेपछि गत बुधवार राति दुई पक्षबीच कुटाकुट भएको थियो । त्यो विषय प्रहरीमा उजुरीसम्म पुगेको थियो । घटनाबारे प्रहरीमा मिलापत्र गराएर अधयक्ष परिवर्तन गरि विवाद मिलाउने प्रयास गरिएको छ ।
यसबारे केन्द्रले थप अनुसन्धान गर्ने भन्दै दुवै पक्षलाई काठमाडौँ बोलाइएको निकटस्थ स्रोतले जानकारी दियो । पार्टीभित्रको विषयलाई बाहिर ल्याएको भन्दै दामोदर खत्रीलाई पार्टीको केन्द्रीय अनुसन्धान टिमले थप अनुसन्धानको लागि काठमाडौँ बोलाएको छ ।
जिल्ला अध्यक्ष ज्ञवाली रुपन्देहीका तिलोत्तमा नगरपालिका रहेको एक सामुदायिक विद्यालयमा शिक्षक छन् । पार्टी विधानमा शिक्षकले नेतृत्व गर्न नमिल्ने उल्लेख रहेकाले रास्वपामा समस्या परेको एक नेताले जानकारी दिए ।
आगामी मङ्सिरमा हुने पार्टीको अधिवेशनमा नेतृत्व हत्याउने उद्देश्यले एक समूहले स्थापनाकालदेखि पार्टीमा लागेका कार्यकर्ताको सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको भन्दै सैना मैना र्यापिट एक्सन टिम संयोजक दामोदर खत्रीले आफूमाथि अन्याय भएको विषय बाहिर ल्याएका थिए ।
त्यही विषयमा बुधबार राति विवाद हुँदा उपसभापति सालिकराम घिमिरे, रुपन्देही संयोजक ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारी लगायतको समूहले राति ९ बजेको समयमा पार्टी कार्यालयमा बोलाई आफूलाई कुटपिट गरेको र उल्टै आफू विरुद्ध कुटपिटको उजुरी दिएको गुनासो उनको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology