काठमाडौं । आर्थिक वर्ष २०७९-८० मा आयात निर्यातमा कमी आइ वैदेशिक व्यापार घटे पनि मुलुकको व्यापार घाटा घट्न सकेको छैन ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षमा कुल व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ रहेको छ । यो व्यापार घाटा अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को तुलनामा १५.४५ प्रतिशतले थोरै रहेको भन्सार विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षमा कुल व्यापार घाटा १७ खर्ब २० अर्व ४१ करोड रहेको थियो ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा कुल १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । गत २०७९ को साउन देखि २०८० को असारसम्ममा मुलुकले कुल १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा १९ खर्ब २० अर्वको आयात र २ खर्बको निर्यात गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष मुलुकको आयात १६.०८ प्रतिशतले र निर्यात २१.४४ प्रतिशतले घटेको तथ्यांक रहेको छ ।
सरकारले सुन, गाडी, महँगा मोबाइल जस्ता विलासिताको सामग्री र कुरकुरेजस्ता प्याकेजिङ्ग वस्तुको आयातमा प्रतिवन्ध लगाएपछि आयात घटेको हो । आयातमा गरेको प्रतिवन्धका कारण व्यापार घाटा दुई खर्ब ६५ अर्ब रूपैयाँले कमी आएको देखिएको छ।
उद्योगधन्दा कलकारखानाले मेसिनरी सामान ल्याउनेदेखि अन्य वस्तुको समेत आयात बढ्दा गत आर्थिक वर्ष अहिलेसम्मकै सबैभन्दा उच्च आयात भएको थियो ।
नेपाल राष्ट्र बैंकले समेत विलासिता वस्तुको सूची निकालेर एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि आयात पुससम्म हुन सकेको थिएन । यसले गर्दा राजश्व संलकन प्रभावित भएको थियो
नेपालको कुल व्यापारमा आयातको हिस्सा ९१ दशमलव १२ प्रतिशत र निर्यातको हिस्सा ८ दशमलव ८८ प्रतिशत रेको छ । अघिल्लो आवमा आयातको हिस्सा ९० प्रतिशत मात्र थियो ।
व्यापार घाटामा विगतमा झै अहिले पनि प्रमुख कारक तत्वमा पेट्रोलियम पदार्थ रहेको छ । गत आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ७१ करोड रुपैयाँको पेट्रोलियम पदार्थ नेपालले आयात गरेको छ । अघिल्लो आवमाा पेट्रोलियम पदार्थको आयातमा ३ खर्ब ८३ अर्ब रुपैयाँ विदेशिएको थियो । विद्युतीय सामान र उपकरणको आयात १ खर्ब रुपैयाँ बराबरको भएको छ । विभिन्न मेसिन र त्यसको पार्टपूर्जा आयातमा समेत १ खर्ब विदेशिएको छ । ३१ अर्ब रुपैयाँ बराबरको तरकारीजन्य वस्तु आयात भएको छ । आइरन र स्टीलको आयातमा १ खर्ब ४० अर्ब रुपैयाँ विदेशिएको छ । यसैंगरी एक वर्षमा ३७ लाख ९१ हजार हेडफोन र दुई लाख ८६ हजार स्मार्टवाच भित्रिएका छन । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology