भनिन्छ, एउटा कागजको खोस्टामा कोरिएको अंकले कसैको क्षमताको मापन गर्दैन। तर हरेक कामको दाम र काम प्राप्त गर्न त्यही कागजको खोस्टा अर्थात सर्टिफिकेटलाई नै प्रमुख आधारको रुपमा लिइने गरिन्छ। अहिले हरेक क्षेत्रमा प्रवेश गर्नको निम्ति परीक्षा लिने कुरा सामान्य भइरहँदा शैक्षिक क्षेत्रमा कागज र परिक्षाको कुरा गरेर असामान्य भएको जस्तो गर्नु मुर्खता हुन्छ। तर परीक्षा दिइसकेपछी त्यस परीक्षाको सहि मुल्यांकन हुनु पनि त आवश्यक हुन्छ।
केही दिन अगाडी त्रिभुवन विश्वबिद्यालयले बि.बि.एस दोस्रो वर्षको नतिजा प्रकाशित गरेको थियो। नतिजामा बोर्ड टपरले ८४.४० प्रतिशत पनि ल्याएका छन् । त्यो एक सबल पक्ष हो ।फेरि त्यही नतिजा प्रकाशनमा उच्च अंकको अपेक्षा गरेका केही विद्यार्थीको नतिजा भने औसत अंक भन्दा पनि न्यून आएको छ। कतिजनाको नतिजा त फेल समेत देखाइएको छ। नलेखेर फेल हुनु स्वभाविक हो तर लेखेर उच्च अंक अपेक्षा गरेको विद्यार्थीको नतिजामा यस्तो गडबडी किन भइरहेको छ? कोही एक-दुइजना विद्यार्थीको एकपटक मात्र यस्तो नतिजा हेरेर बोल्ने कुरा हुँदैन तर कयौंको नतिजा सोही आइरहँदा पनि सरोकारवालाहरु किन मौन छन् त?
२०७८ मा एकजना बुटवलमा अध्य्यनरत विद्यार्थीले प्रथम वर्षको सबै विषयका परीक्षा दिएका थिए। परीक्षा दिएको १५ महिनामा बल्ल त्यसको नतिजा प्रकाशन गरियो । यसै त नतिजा प्रकाशनमा ढिलाइ भएको थियो। अझ उनको नतिजामा एउटा विषयमा औसत अंक दिएर बाँकी सबैमा गयल भनेर देखाइएको थियो। अहिले दोश्रो वर्षको नतिजामा पनि केही विषयमा अनुमान नै नगरेको जति औसत अंक दिएर एउटा झन धेरै राम्रो भएको विषयमा भने फेल बनाएर पठाइदिएको छ।
रि-टोटल गर्ने भन्दा "पास भएको विद्यार्थीलाई त फेल बनाएर पनि पठाउन सक्छ। त्रि.बिको भर हुँदैन त्यसैले फेल भएको विषयमा मात्र रि-टोटललाई पठाउनु " भनेर शिक्षकले सम्म भन्नुभयो। त्रि.बि.को यो लापरबाहीले बिश्वासको जरा गाडिसक्दा पनि अझै मौनता किन ?
२०-२२ अंकको हल गरेर पास नै हुँदिन भनेर ढुक्क बसेका विद्यार्थीहरु पास हुने र राम्रो अंक ल्याउने अपेक्षा राखेकाहरु १७-१८ अंक लिएर फेल भैरहने क्रम किन चलिरहेको छ?
हुन त दोस्रो वर्षको नतिजा प्रकाशन गर्नुभन्दा केही दिन अगाडी एकजना छात्राले रि-टोटल गर्दा पनि अंक नबडेपछी पुन कापी हेर्न जाँदा आफ्नो थपकापी नभेटेपछि प्राध्यापकले आफ्नो छोरीलाई पास गराउनको निम्ति उनको थपकापीको प्रयोग गरेको भेटिएको थियो। के साँच्चिकै त्रि.बि.का हरेक कापी सोही तरिकाले चेक हुँदै आएका छन् त?
यसै त ४ बर्षभित्र सक्किनुपर्ने ब्याच्लरमा विद्यार्थीहरु बल्ल तेस्रो वर्षको परीक्षा दिएर बसेका छन् । परीक्षाको बिचमै दोस्रो वर्षको नतिजा प्रकाशित भयो। फेरि पनि पहिले जस्तै लापरबाही देखिएपछी विद्यार्थीहरुको परीक्षाप्रतीको महशाय नै बद्लिएको छ।
"परीक्षा राम्रो- नराम्रो भयो पनि कसरी भन्नू नतिजा त्रि.बि.ले आफ्नै हिसाबले प्रकाशित गर्ने रहेछ ।" सार्है बिरक्त हुँदै एकजना साथीले भने।
सानैबाट मलाई पढाउनुभएको एकजना शिक्षकसङ्ग राम्रोसँग कुरा हुने गर्थ्यो। तर जब मैले "बि.बि.एस भर्ना भएर पढदैछु" भनेँ उहाँले पहिलोपटक पत्याउनु भएन । दोस्रोपटक बि.बि.ए, बि.आइ.एम जस्तै अरु पनि त थिए नि भन्ने कुरा जोड्नुभयो र तेस्रोपटक बाट उहाले राम्रोसँग कुरा गर्नै छोड्नुभयो। त्यस्तै प्रथम वर्षको नतिजा सोध्ने क्रममा एकजना अग्रजले फेरि भन्नुभयो, "बि.बि.एस पढेर पनि अंक राम्रो आएन भन्छस् भने के पढ्छस्? "
त्यो त भयो घर समाजको कुरा जुन टिका-टिप्पणीको कुरा हो। भइरहन्छ। यहाँ त कार्यस्थलमा हेरिने र गरिने व्यबहारमा पनि फरक छ।
बायोडाटा हेरिन्छ "ए! बि.बि.एस पो रहेछ। " अनि सुरुमै काम गरेको अनुभव सोधिन्छ। सीप सोधिन्छ। अनि अंक। " तर सोही ठाउँमा बि.बि.ए , बि.आइ.एमको विद्यार्थी छ भने केही महिना इन्टर्न लगत्तै जागिर भन्दै उसलाई प्राथमिकतामा राखिन्छ। आखिर ती सबै ब्यबस्थापनकै विद्यार्थी होइनन् र?
बिबिएसको पढाईलाई पनि सेमेस्टर प्रणालीमा लैजाने, समयमा परीक्षा गराउने, नतिजा प्रकाशनमा ढिलाइ नगर्ने ,पढाइमा प्राक्टिकल राख्ने, पढाइकै सिलसिलामा इन्टर्नशिपको कुरालाई अनिवार्य गराउने जस्ता कार्यलाई प्राथमिकतामा राख्यो भने भोलि कार्यक्षेत्रमा जाँदा भिन्नता भेटिदैनथ्यो होला। पढाइ सकिने बित्तिकै जागीर खोज्न जाँदा पनि कसैलाई अनुभव मागिने थिएन होला। फ्रेसर्सकै रुपमा पनि काम पाइने हुँदा अरु सन्कायको विद्यार्थीले जस्तै बि.बि.एसको विद्यार्थीले पनि ४ वर्षको समयमा पढाईलाई प्रमुख मानेर पढ्न सक्ने थिए।
४ बर्षे ब्याच्लरको आज तेस्रो बर्षमा आइपुग्दा एउटा क्याम्पसबाट न्युनतम १०% विद्यार्थीहरु वैदेशिक अध्ययन र रोजगारीको निम्ति गइसकेका छन् । यदि त्रि.बि. लगायत नेपालको शैक्षिक व्यवस्था यसरी नै चलिरह्यो भने भोलिको दिनमा नेपालमा बसेर पढ्ने विद्यार्थीको संख्या कति होला?
अन्तत: नेपालकै पुरानो बिश्वविद्यालय मानिएको त्रि.बि के साच्चिकै पुरानो भएकै हो त? यहाँ प्रत्येक वर्ष कुनै न कुनै विषयमा गल्ती गरिरहेको बिश्वविद्यालयले पनि सबैभन्दा राम्रो बिश्वविद्यालयको उपाधिसङ्गै बिश्वमा चिनिदै गर्दा पनि ती गल्तीहरु किन सुध्रिनुको सट्टामा झन बढ्दै गइरहेका छन् त? एकपटक गरेको गल्तीलाई गल्ती भन्न मिल्छ तर बारम्बार सोही कुरा दोहोरिरहदा त्यसलाई लापरबाही भन्न मिल्ने कि नमिल्ने ? एक वर्षमा हुनुपर्ने परीक्षा १५ महिना बितिसक्दा पनि केही ठेगान हुँदैन।६ महिनामा प्रकाशित हुनुपर्ने नतिजा एक वर्षसम्म अत्तोपत्तो हुँदैन।
हरेक सानो सानो कुरामा पनि बिरोध गर्दै बिवाद , तोडफोड र तालाबन्दी गर्ने विद्यार्थी संघठन यस विषयमा चासो नै नराखेको हो कि मौनता रोजेको हो? यदि होइन भने यस विषयमा कतै आवाज उठेको खै त? तसर्थ आजको बिश्वविद्यालयको यस्तो लापरबाहीले भोलि विद्यार्थी र विद्यार्थी कै कारणले देशमा के कस्तो प्रभाव पर्न सक्छ भन्ने बारे हेक्का राख्दै त्यसको समाधानको बाटो अपनाउन सरोकारवालाहरुको ध्यानाकर्षण गर्नु जरुरी छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology