Logo

२०८३, कार्तिक २८गते


images
images

आज दिनभरका १२ समाचार

आज दिनभरका १२ समाचार

images
  • आज दिनभरका १२ समाचार
    images

    १. कोशी प्रदेश सरकार गठनमा काँग्रेसले जिम्मेवारी भुमिका खेलोस्ः एमाले 

    images
    images
    images

    नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल भइरहेको बताएका छन । 

    images
    images
    images

    आईतवार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । उनले पहिलादेखि नै काँग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार निर्माण गर्नुपर्छ भनेको भएपनि ठूलो पार्टीलाई निषेध गरी संविधान मिच्ने काम सत्ता गठबन्धनबाट भएको बताए  । उनले  प्रदेशप्रतिको वितृष्ण बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति अहिले नै आउँदा देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै काँग्रेसले समाधानको बाटोमा जानुपर्ने बताए  । उनले प्रदेशको हीत र संविधानको रक्षाका काँग्रेसले जिम्मेवारीपूर्ण भुमिका खेल्नुपर्ने बताए  । 

    images
    images

    उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरु मागेको र आफूले चीनसँग विश्वास बटुलेर आउन सुझाव दिएको बताए  । उनले नेपाल र चीन सम्बन्ध सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो की भन्ने शंका चिनियाँहरुले गरिरहेको भन्दै त्यसलाई प्रधानमन्त्रीले चिर्नुपर्ने बताए  । 

    उनले उचस्तरीय भ्रमणको क्रममा यसअघि भएका सम्झौता कार्यान्वयनमा जोड दिन आग्रह गरेको बताए  । 

    २. मोरक्कोमा ६.८ म्याग्निच्युडको भूकम्प, हजारभन्दा धेरैको मृत्यु

     

    अफ्रिकी राष्ट्र मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा एक हजार ३७ जनाको मृत्यु भएको छ । शनिबार रातिसम्मको रिपोर्टअनुसार ६ सय ७२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । 

    स्थानीय समयअनुसार शुक्रबार राति ११:११ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको १९ मिनेटपछि ४.९ म्याग्निच्युडको परकम्प गएको थियो । माराकेस सहरबाट ७१ किलोमिटर दक्षिण–पश्चिमस्थित हाई एट्लस माउन्टेन्सलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको अमेरिकी भूसर्वेक्षण केन्द्रले जनाएको छ । भूकम्पमा केही हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

    भूकम्पबाट माराकेस सहर र त्यहाँबाट दक्षिणी क्षेत्रका मानिसले ज्यान गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । माराकेसमा रहेको राष्ट्रसंघको सम्पदा सूचीमा परेको मेडिनाका केही हिस्सामा क्षति पुगेको छ । भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । माराकेस, अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि प्रभावित भएका छन् । प्रभावित क्षेत्रका बासिन्दा मध्यरातमा घर छोडेर भागेका थिए । मराकेस, कासाब्लांकालगायत सहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । अहिले पनि अधिकांश मानिस घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । शक्तिशाली भूकम्पपछि शनिबार दिउँसो स–साना धक्का महसुस गरिएको सञ्चार माध्यमले बताएका छन् । 

    भूकम्पपछि दश मिनेटसम्म बिजुली र टेलिफोन सेवा बन्द भएको थियो । सरकारी अधिकारीका अनुसार देशको एकतिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । भूकम्पले नराम्ररी प्रभावित भएका पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँमा उद्धार कार्य निकै कठिन भएको छ । पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ । ती स्थानमा उद्धारकर्ता पुग्न केही दिन लाग्न सक्छ । क्षति तथा हताहतीको पूर्ण विवरण आउन बाँकी छ ।

    यसैबीच, विश्वका विभिन्न देशका नेताले मोरक्को सरकारप्रति सहानुभूति प्रकट गर्दै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जी–२० शिखर सम्मेलनमा भाग लिने सिलसिलामा भारतको राजधानी नयाँदिल्लीमा रहेका बेलायती प्रधानमन्त्री ऋषि सुनकले मोरक्कोलाई आफ्नो देशले हरसम्भव सहयोग गर्ने बताएका छन् । 

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मोरक्कोलाई सहयोग गर्ने प्रस्ताव गरेका छन् भने फ्रान्सेली विदेशमन्त्री क्याथरिन कोलोनाले पनि मोरक्कोका भूकम्पपीडित जनता र त्यहाँको सरकारप्रति ऐक्यबद्धता प्रकट गरेका छन् । 

    स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मोरक्कोमा गएको भूकम्पका कारण भएको क्षतिप्रति शोक प्रकट गरेका छन् । उनले यथाशीघ्र स्पेनी उद्धार टोली मोरक्को पठाउने बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि मोरक्को नरेश मोहम्मद छैटौँलाई शोक सन्देश पठाएर समवेदना व्यक्त गरेका छन् ।

     

    ३. जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुरामा समाजवादी मोर्चा जोडिन्छः माधव नेपाल

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुरामा समाजवादी मोर्चा जोडिएको बताएका छन । 

    आईतवार मकवानपुरको हेटौँडामा समाजवादी मोर्चाले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले देशालई समाजवादको दिशामा लिएर जानका लागि गणतन्त्रको प्रयोग गर्नुपर्ने बताए ।

    उनले माजवादका मान्यता के हुन्, समाजवादको समानताको सिद्धान्त पूरा कसरी गर्ने ? सबै समुदायप्रति समानताको वातावरण बनाउने कसरी, न्यायको प्रत्याभुति दिने कसरी ? विकासको अभियान कसरी सञ्चालन गर्ने ? जनतालाई समृद्ध जीवन जिउनका लागि सुखी जीवन बाँच्नका लागि हामीले वातावरण कसरी बनाउने ? भन्नेकुरा समाजवादी मोर्चाको उद्देश्यसँग जोडिएको जिकिर गरे ।

    अध्यक्ष नेपालले राष्ट्रियताको रक्षा गर्ने होस्, लोकतन्त्रलाई बचाउने कुरा होस्, जनताको जीवनलाई सुखी र समृद्ध बनाउने कुराको निम्ति मिलेर अघि बढ्नुपर्ने बताए  । 

    अध्यक्ष नेपालले केन्द्र, प्रदेश र स्थानीय तहले आफ्नोआफ्नो जिम्मेवारीलाई इमान्दारितका साथ पूरा गर्नुपर्ने बताए  । 

     

    ४. दुवै छिमेकी देशले नेपालसँग विश्वास गुमाउँदै गएका छन्ः परराष्ट्रविद् पाण्डे
    परराष्ट्रविद् रमेशनाथ पाण्डेले दुवै छिमेकी देशले नेपालसँग विश्वास गुमाउँदै गएको बताएका छन । 

    प्रधानमन्त्री पुष्पकमल दाहालले आईतवार आसन्न विदेश भ्रमणबारे सुझाव लिन बोलाएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले दुवै देशले नेपालप्रति विश्वास गर्न छोडिरहेको भन्दै प्रधानमन्त्री दाहालले दुवै देशको विश्वास बटुल्ने काम गर्नुपर्ने बताए  ।

    उनले छिमेकी देशले कुटनीतिक रुपमा स्पष्ट गर्दागर्दै अब सार्वजनिक रुपमा व्यक्त गर्न थाल्नुले झनै चिन्ता थपिएको बताए  । 
    उनले भने, ‘नेपालको दुवै छिमेकी देशसँग विश्वासको सञ्चिति निरन्तर घट्दै गएको छ । दुवै देश हाम्रा छिमेकीले उनीहरुको चाहना सुरक्षित छैन भन्ने अनुभुति गरेका छन् । त्यसलाई उनीहरुले कुटनीतिक रुपमा स्पष्ट गर्दागर्दै अब सार्वजनिक रुपमा व्यक्त गर्न थालेका छन् । उनीहरुको व्यवहारबाट देखिन्छ । त्यसैले सहसचिव स्तरबाट हुनुपर्ने वार्ताका कुराहरु योजनाका कुरा गर्ने सट्टा प्रधानमन्त्रीजीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनुपर्छ ।’

    परराष्ट्रविद् पाण्डेले सहसचिव स्तरबाट हुनुपर्ने वार्ता र योजनाका कुरा गर्ने सट्टा प्रधानमन्त्रीजीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनु पर्ने बताए  । 

    ५. युट्युबमा गायक प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ (भिडियो सहित) 

    काठमाडौं । गायक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको छ। दुई वर्षअघि सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’को दोस्रो भागको रूपमा ल्याईएको ‘जाले रुमाल फाट्यो’ सपूतको आफ्नै युट्युब च्यानलबाट गए राति सार्वजनिक गरिएको हो।

    गायक सपूतको शब्द/सङ्गीत रहेको उक्त गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन्।

    गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारी र स्वयं सपूतको अभिनय रहेको छ।

    आरन प्रोडक्सनले प्रस्तुत गरेको सो गीतले महिलामाथि हुने विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्ने सन्देश गीतले दिन खोजेको जनाईएको छ । 

    गायक सपूतका यसअघि ‘पीर’, ‘गलबन्दी’, ‘बोलमाया’, ‘सकम्बरी’, ‘दमाइ महाराज’लगायत गीत सार्वजनिक भइसकेका छन्। 

    ११ घण्टा अघि यूट्यूबमा अपलोड गरिएको गीत यो सामाचार तयार गर्दासम्मा २ लाख ९९ हजार जनाले हेरेका छन भने यूट्यूबको ट्रेंडिंगमा १२ नम्बरमा रहेको छ ।

    हेर्नुहोस गीतको म्यूज़िक भिडियो

      

     

    ६.बिपी साहित्य महोत्सव शुरु

    ललितपुरस्थित नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालयमा आजबाट बिपी साहित्य महोत्सव शुरु भएको हो ।

    महोत्सवको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गरे । काँग्रेस संस्थापक नेता बिपी कोइरालाको ११० औं जन्म जयन्तीको अवसरमा आयोजित साहित्य महोत्सवमा उनका साहत्यिक विषयमा चर्चा र छलफल हुनेछ ।

    उनले दिएका योगदानले युवा पुस्तामाझ बुझाइने कार्यक्रम छ । महोसत्वमा विभिन्न साहित्यिक श्रष्टा, काँग्रेस नेता, कार्यकर्ताहरुको उल्लेख्य सहभागिता छ ।

    साहित्य महोत्सव ३ दिनसम्म चल्नेछ । 

     

    ७. बिपीको राजनीतिक चिन्तनबाट नै मुलुकलाई समृद्ध बनाउँछौँः देउवा

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिपीको राजनीतिक चिन्तनबाट नै मुलुकलाई समृद्ध बनाउने लक्ष्य लिएको बताएका छन । 

    आईतवार संस्थापक नेता बिपी कोईरालाको ११० औ जन्म जयन्तीमा उनलाई स्मरण गर्दै उनले बिपीको राजनीतिक चिन्तनले देखाएको मार्गमै आफूहरु हिँडिरहेको बताए । उनले आजको युवा पुस्तालाई पनि बिपीका बारेमा गहिरो ज्ञान बाँड्न महोत्सव महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । सभापति देउवाले नेपालका सबै राजनैतिक दलहरूले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचारमा आकर्षित मात्रै नभइ अनुकरण पनि गर्दै आएको दाबी गरे । उनले आफ्नो राजनीतिक प्रेरणाको स्रोत बिपी नै रहेको बताए ।

    उनले आज नेपाली काँग्रेस बहुदलीय संसदीय शासन प्रणाली र प्रजातान्त्रिक समाजवादी अर्थ व्यवस्थालाई आफ्नो मुल सिद्धान्त र आर्दश कायम गरेर अघि बढेको बताए । उनले समयको अन्तरालसँगै आज मुलुक पनि बिपीले देखाएको प्रणालीमा अघि बढेको तर विभिन्न कारणले स्थायित्व नपाएको गुनासो गरे । सभापति देउवाले नेपाल समाजवाद उन्मुख राष्ट्र भनेर संविधानमा नै लेखेको भएपनि यसको मर्म अनुसार अभ्यास गर्न नपाएको बताए । उनले नागरिकका कैयौं अभाव, समस्या, असन्तुष्टी र समाजमा देखिएका विभेद विसंगतिलाई बिपीको आर्थिक, सामाजिक तथा धार्मिक सांस्कृतिक एवं राजनीतिक विचारले समाधान दिनसक्छ भन्ने दृढ विश्वास हुँदाहुदै पनि उनको विचारलाई हरेक पुस्ताका नागरिकहरू बीच पर्याप्त वहस र छलफल गराउन नसक्नु आफूहरुको कमजोरी रहेको बताए । सभापति देउवाले बिपी राष्ट्रिय मात्रै नभइ अन्र्तराष्ट्रिय तहको नेता, राजनैतिक विचारक र साहित्यकार भएको बताए  ।

    सभापति देउवाले अन्तर्राष्ट्रिय सम्बन्धका मामिलामा बिपी सबैको सह–अस्तित्व र सम्मानलाई उच्च मान्यतामा राख्दै राज्यको सीमा र सार्वभैमिकताका लागि सबै छिमेकी मित्रराष्ट्रका समकक्षीहरुसँग मित्रवत ढंगले स्वाभिमानका साथ आफ्नो मुलुकका पक्षमा बोल्नुहुने व्यक्ति रहेको बताए । बिपी कोईरालाको ११० औं जन्मजयन्तीको अवसरमा ११० वटा बेलुन उडाएर बिपी जयन्ती मनाइएको छ । बीपीका साहित्य, राजनीति, दर्शन, कूटनीति, अर्थ राजनीति, विदेशनीतिका विषयमा बहस हुनेछ । महोत्सवमा १५ सेसन चल्नेछन् । लेखक अभि सुवेदीले बीपीको साहित्य सिर्जना र जीवन दर्शनका बारेमा बोल्नेछन् ।

     

     

    ८. भदौ अन्तिम सातादेखि अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुँदै

    काठमाडौं । ११ औं कोरियन एम्बेसडर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आगामी भदौको अन्तिम सातादेखि शुरु हुने भएको छ । 

    नेपाल तेक्वान्दो संघले आईतवार त्रिपुरेश्वरमा पत्रकार सम्मेलन आयोजना गर्दै आगामी भदौ २७ देखि ३१ गतेसम्म अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना हुने जनाएको हो । नेपालस्थित दक्षिण कोरियाको दुतावास र संघको आयोजनामा पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिष्पर्धा हुन लागेको हो । यस अघिका संस्करण राष्ट्रियस्तरमा मात्र सिमित थियो । च्याम्पियनसिपमा भारत, बंगलादेश र नेपाल गरी तीन राष्ट्रका खेलाडीले खेल्नेछन् ।

    नेपाली राष्ट्रिय तेक्वान्दो टोली चीनमा आयोजना हुने १९ औं एसियाडको तयारीमा रहेकाले राष्ट्रिय टोलीबाहेक खेलाडीले च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक भानबहादुर चन्दले जानकारी दिए ।  

    यस च्याम्पियनसिपमा सात सय ११ महिला र एक हजार ६७ पुरुष गरी कुल एक हजार ७७८ जना सिनियर तथा जुनियर खेलाडी सहभागी हुने संघका उपाध्यक्ष चन्दले बताए  । पुम्सेतर्पm २५ र ग्यरोगी (फाइट) मा ३२ गरी कुल ५७ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुनेछ । च्याम्पियनसिपमा भारतबाट ३५ र बंगलादेशबाट ३३ खेलाडीले प्रतिष्पर्धा गर्ने भएका छन् । ती देशका खेलाडी पनि एसियाडको तयारीमा रहेकाले दोस्रो रोजाइका खेलाडीले च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने अपेक्षा गरिएको छ । 

    प्रतियोगिताका लागि संघका उपाध्यक्ष चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ भने सो समितिअन्तर्गत १० वटा उपसमितिहरू छन् । प्रतियोगिताका लागि ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयंसेवकहरु तय गरिएको संघले जनाएको छ ।

    प्रतियोगिताको लागि करिब ३५ लाख लागत लाग्ने आयोजक जनाएको छ । त्यसमा कोरियाली दुतावासबाट करिव पाँच हजार अमेरिकी डलर र प्रतियोगिताका लागि खेलाडी दर्ताबाट करिव १७ लाख रुपैयाँ प्राप्त हुने संघका उपाध्यक्ष चन्दले जानकारी दिए । प्रतियोगिता सञ्चालन गर्न बाँकी रकम भने संघले व्यवस्थापन गर्नेछ ।

    ९.हिमालय एयरलाइन्सले काठमाडौं—छिङ्डाओ उडान शुरु गर्दै

    हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान शुरु गर्ने भएको छ । 


    आईतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ लगायतको उपस्थिति रहेको थियो ।

    पत्रकार सम्मेलनमा बोल्द मन्त्री किराँतीले चीनको छिङ्डाओमा सिधा उडान भर्न लागेको खुशी व्यक्त गरे । उनले उक्त विमानस्थल बिआरआई परियोजनाको भूमि भएको नाताले महत्वपूर्ण रहेको बताए  । उनले धेरै चिनियाँ नागरिकलाई पाहुनाको रुपमा नेपाल भित्र्याउनसके र ग्रामिण संस्कृतिको जरासम्म पु¥याउनसके पर्यटन क्षेत्रमा नयाँ गन्तव्य बन्ने बताए । चीनका विभिन्न शहरबाट पोखराको शहरमा उडान गर्नको लागि चिनियाँ राजदुतसँग आग्रह गरे । 

    मन्त्री किराँतीले काठमाडौं—पोखरा—चीनसम्म उडान गर्ने वातावरण मिलाउन सके नेपालमा पर्यटन क्षेत्रले नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे । 

     

    १०.काठमाडौं–तराई÷मधेस द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सम्पन्न

    नेपाली सेनाले जिम्मा लिएको काठमाडौं–तराई÷मधेस दु्रतमार्ग सडक आयोजना निर्माणको कामको आर्थिक वर्ष २०७९/८० को श्रावण मसान्त सम्मको भौतिक प्रगति २६.१४ प्रतिशत भएको जानकारी गराइएको छ ।

    आईतवार नेपाली सेनाले पत्रकार सम्मेलमार्फत सो सडक आयोजनाको कार्य प्रगति विवरण सार्वजनिक गरेको हो । आयोजनाको मोविलाईजेशनसहित वित्तीय प्रगति भने २८.११ प्रतिशत रहेको काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजना प्रमुख कमलविक्रम शाहले जानकारी दिए । उनले आयोजनाको समष्टिगत कार्य योजना मुताविकका ११ वटा क्लष्टर अन्तर्गतका १३ वटा निर्माण प्याकेजहरु मध्ये १ देखि ७ नम्बर सम्मका प्याकेजहरु निर्माणाधिन अवस्थामा रहेका जानकारी दिए ।

    त्यस्तै द्रुतमार्गको सिस्नेरी तथा मख्खुबेंसी खण्ड अन्तर्गत पर्ने प्योकेज नम्बर ८क, ९क र ९खको द्रुतमार्गको मख्खुबेंसी तथा सिस्नेरी खण्डको प्याकेज नम्बर ८क, ९क र ९खको २०८० साल भाद्र १३ गते बोलपत्र खोलुवा भई मूल्यांकन भइहेको जनाइएको छ । त्यसैगरी द्रुतमार्गको मख्खुबेंसी तथा महादेवटार खण्डमा पर्ने प्याकेज नम्बर ८ ख र १० को २०८० साल भाद्र १ गते बोलपत्र आव्हान भएको छ ।

    प्रमुख शाहका अनुसार आयोजनाको करिव ९५ प्रतिशत प्याकेजहरु कार्यान्वयन तथा खरिद प्रक्रियामा प्रवेश गरिसकेको छ । उनले आयोजनाको प्याकेज नम्बर ११ अन्तर्गत पर्ने खोकना इलाकामा द्रुतमार्गको शुरु बिन्दु निर्धारण, सवारी आवागमन व्यवस्थापन सम्बन्धि निर्णय र जग्गा अधिग्रहण विवाद समाधान पश्चात खरिद प्रक्रिया शुरु गर्नेगरी तयारी अवस्थामा रहेको पनि जानकारी दिए ।

    उनले हालसम्म निर्माणाधिन तीन वटा सुरुङ्गमार्गहरुको जम्मा लम्बाई ६.४१५ किलोमिटरमध्ये २.६६७ किलोमिटर सुरुङ्ग निर्माण कार्य सम्पन्न भएको जानकारी दिए । जुन प्रतिशतमा ४१.५७ प्रतिशत हुन आउँछ । जस अनुसार महादेवटार सुरुङ्गमार्गको जम्मा लम्बाई ३.३५५ किलोमिटरमध्ये हालसम्म १.३८७ किलोमिटर, धेद्रे सुरुङगमार्गको जम्मा लम्बाई १.६३ किलोमिटरमध्ये हालसम्म ६१९ मिटर र लेनडाँडा सुरुङगमार्गको जम्मा लम्बाई १.४३ किलोमिटरमध्ये हालसम्म ६६१ मिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको छ ।

    प्रमुख शाहका अनुसार हालसम्म ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेका प्याकेज नम्बर १ देखि ५ सम्मका ४५ वटा पुलहरुको डिजाइन सम्पन्न भइसकेका १ हजार ७ सय ६८ वटा पाइलहरुमध्ये १ हजार ५३ वटा पाइलको निर्माण कार्य सम्पन्न भइसकेको छ ।

    उनले आयोजना निर्माणका लागि जम्मा १५ हजार ४ सय १६ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने र जसमध्ये सरकारी जग्गा १० हजार २ सय ४४ तथा व्यक्तिगत जग्गा ५ हजार १ सय ७२ रोपनी रहेको उल्लेख गरे । व्यक्तिगत जग्गामध्ये हालसम्म ४ हजार ७ सय ६६ रोपनी जग्गा अधिग्रहण भइरहेको र ४०६ रोपनी जग्गा अधिग्रहण हुन बाँकी रहेको उन्ले स्पष्ट पारे । उनले स्वीकृत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बमोजिम कटान गर्नुपर्ने ३८ हजार ६ सय ६४ वटा रुखहरुमध्ये हालसम्म २८ हजार ६ सय ४६ वटा रुखहरु कटान भएको र बाँकी १० हजार १८ वटा रुखहरु कटान गर्ने प्रक्रियामा रहेको बताए  ।

    काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजना प्रमुख शाहका अनुसार कटान गरिएका रुखहरुको बदलामा १ अनुपात २५ का दरले ७ लाख १६ हजार १ सय ५० बिरुवाहरु रोप्नुपर्नेमा हालसम्म जम्मा ५३७ हेक्टरमा ६ लाख ४३ हजार ६ सय ९५ बिरुवा रोपिएको छ ।

    प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाई ७०.९७७ किलोमिटर रहेको छ । मिति २०७४ जेठ १४ गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले निजगढमा शिल्यानास गरी निर्माण कार्य प्रारम्भ भएको यस आयोजनाको २०८० साल श्रावण ३० गते स्वीकृत भएको आयोजनाको परिमार्जित डिपिआर बमोजिम २०८३ साल चैत मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    यस आयोजनाको कुल लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । नेपाली सेनालाई आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी दिएपछि आ.व.२०७९÷८०सम्म कुल ४९.२३ अर्ब खर्च भएको प्रमुख शाहले जानकारी दिए । चालु आर्थिक वर्षमा आयोजनालाई २२ अर्ब ५१ करोड रुपैयाँ विनियोजन भएको उनले स्पष्ट पारे । 

    ११.सरकारले राष्ट्रिय पुँजीपतिहरुलाई छानिछानि लखेटिरहेको छः ओली

     नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिवका लागि ऋण प्रवाह नगरेको बताएका छन् । ठूलो पुँजीपतिहरुलाई खोजेर अर्बांै लगानी गर्ने बैंकहरुले अझै पनि गरिवलाई भने ऋण नदिएको अध्यक्ष ओलीको भनाई छ ।

    पार्टीको केन्द्रिय सहकारी तथा गरिवी निवारण विभागले आईतवार च्यासलमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले गरिवलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि सिड मनिको रुपमा ऋण प्रवाह गर्नुपर्ने धारणा व्यक्त गरे । सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढनुपर्ने उल्लेख गर्दै उनले साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको जिकिर गरे । 

    उनले भने, ‘बैंकहरुले कि त अहिलेजस्तै ठूलाठूला पुँजीपति खोजेर लगानी गर्ने, तल साँच्चै जसलाई ऋण चाहिएको छ, उस कहाँ बैंकको ऋण पुग्दैपुग्दैन । जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ । ठूलाकोमा ऋण नपुगोस् भन्ने होइन । ठूलो उद्योगका लागि त्यो पनि आवश्यक छ । ठूला उद्योग, ठूला व्यवसाय सञ्चालन पनि गर्नु पर्छ । त्यसकारण ठूलाका लागि पनि आवश्यक छ । तर त्यहाँ मात्रै होइन । गरिवका, जहाँ सिड मनि छैन । जहाँ व्यवसाय शुरु गर्नका लागि केही छैन । हो त्यस्तो ठाउँमा लोनको व्यवस्था हुनुपर्छ । त्यस्तो ठाउँमा माईक्रो फाइनान्स पुग्यो भने पनि बिल्कुल इन्डिभिजियोल कहाँ पुग्छ । त्यसबाट मुनाफा हुँदैन ।’

    १२.सर्लाहीको मलंगवामा २७ गतेसम्म निषेधाज्ञा जारी

    सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको छ ।

    कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा दुई पक्षबीच मलंगवामा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यू जारी गरेको थियो ।

    प्रशासनले स्थिति सामान्य भएको निष्कर्ष निकाल्दै आइतबार बिहानबाट कर्फ्यू हटाइएको तर २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दिनभरका १२ समाचार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।