काठमाडौं । खाडी मुलुकमा रहेका नेपाली राजदुतहरुले खाडी देशहरुमा नेपालबाट कृषिजन्य उत्पादन लैजान सकिने प्रचुर सम्भावना रहेको भएपनि नेपाली व्यवसायीहरु एडुकेट हुन नसकेको बताएका छन् ।
उनीहरुले खाडी मुलुकमा नेपालका कृषिजन्य उत्पादनहरुको माग बढी रहेको बताएका हुन् । उनीहरुले नेपालमा उत्पादन हुने तरकारी, फलफूलको माग युएई, कुवेत लगायतका देशमा बढ्दै गइरहेको र त्यहाँको मागअनुसार नेपालले आपूर्ति गर्नसके अर्थतन्त्रमा थप टेवा पुग्ने बताए ।
ललितपुरमा भएको राजदुतहरुसँग व्यवसायीहरुको छलफलमा बोल्दै थाइल्याण्डका लागि नेपाली राजदुत धनबहादुर ओलीले नेपाली व्यवहासायीहरुलाई एडुकेट बनाउन आवश्यक रहेको बताए । उनले व्यवसायीका पनि धेरै कमजोरी रहेको भन्दै व्यवसायीहरुले आफ्नो व्यवहार सुधार्नुपर्ने जरुरी रहेको बताए । उनले एक वर्ष मेलामा जाने र अर्को वर्षबाट नजाने गर्दा बजारको माग पूरा गर्न नसकिने अवस्था देखिँदै आएको बताएका छन । उनले राजदुतले सम्बन्धित देशमा गर्नसक्ने धेरै सम्भावना रहेको उल्लेख गर्दै क्षणिक रुपमा व्यवसायीहरुले सोच्नु नहुने बताए ।
कार्यक्रममा बोल्दै कुवेतका लागि नेपाली राजदुत घनश्याम लम्सालले सम्बन्धित देशहरुसँग राजदुतावासबाट हुने सहयोग र समन्वय गर्न आफूहरु तयार रहेको बताए । उनले सम्बन्धित देशहरुलाई कस्तो सामग्री पठाउँदा ठिक हुन्छ भन्ने सूचि तयार गरे आफूले त्यहाँको उद्योगी व्यवसायीहरुसँगको वातावरण मिलाइलिने स्पष्ट पारे । उनले सम्बन्धित देशहरुमा हुने मेलामा पूर्ण रुपमा निःशुल्क स्टलहरु उपलब्ध गराउन भने नसकिने भएपनि केही छुट दिलाउन सकिने बताए ।
त्यस्तै युएईका लागि नेपाली राजदुत तेजबहादुर केसीले नेपालको निर्यात कम रहेको र आयात बढीरहेको बताए । उनले नेपालको व्यापार घाटा अहिले झन्डै ४० अर्ब रहेको बताए । उनले आफूले युएईमा अब नेपालबाट कृषिजन्य सामग्रीहरु निर्यात गर्ने कुरामा बढी जोड दिएर लाग्ने पनि बताए । उनले युएईबाट हुने लगानी नेपालमा जोड्नसके नेपालको अर्थतन्त्रलाई राहत हुने बताए । उनले गल्फ कन्ट्रीमा एग्रो प्रोडक्टको ठूलो सम्भावना रहेको बताए ।
कार्यक्रममा व्यवसायीहरुले नेपाली उत्पादनलाई सम्बन्धित देशमा रहेका नेपाली राजदुतहरुले बजारीकरणका लागि सहजीकरण गर्न आग्रह गरेका छन् । नेपाल निर्यात परिषद्का अध्यक्ष रेशम पोख्रेलले खाद्य सामग्री लैजान नेपाल युएईका लागि नयाँ गन्तव्य भइरहेको बताए । उनले जुम्ला र मुस्ताङका स्याउहरुमा उनीहरुको माग बढीरहेको उल्लेख गरे । उनले माग धान्न नसक्दा उनीहरु काश्मिर, सिक्किम पलायन भइरहेको भन्दै दुतावसले यसमा पहल गर्न आग्रह गरे । युएईमा राँगाको सुकुटी धेरै माग आएको बताए । राजदुतहरुले कुटनीतिकसँगै आर्थिक सम्बन्धतिर पनि पहल गरिदिनुपर्ने माग गरे ।
कार्यक्रममा बोल्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले नेपालको ब्राण्डलाई सम्बन्धित देशमा चिनाउन र बुझाइदिन सके व्यापार प्रवद्र्धन हुने बताए । उनले दुतावासमा चिया, कफी लगायत नेपाल्ी उत्पादनको मेला गर्दा पनि नेपाली उत्पादनको बजारीकरण हुनेतर्फ ध्यानाकर्षण गराए ।
उनले राजदुतले नेपालको विशेष दिवसहरुमा र ओहोदाको प्रमाणपत्र पेस गर्दा पनि नेपाली उत्पादन उपहारमा दिँदा त्यसले नेपाली उत्पादनको बजारीकरण र माग बढ्न जाने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology