असलम खान, लुम्बिनी । लुम्बिनीका पत्रकार स्वर्गीय बिन्दु कुमार चौहानको स्मृतिमा स्थापना गरिएको पत्रकारिता पुरस्कार यसबर्ष पत्रकार पशुपति यादवलाई प्रदान गरिएको छ । स्वर्गीय चौहानको स्मृतिमा स्थापित सो पुरस्कार मधेशी पत्रकार समाज नेपाल रूपन्देहीले लुम्बिनी खबरका धकधइ शाखा प्रमुख पशुपति यादवलाइ प्रदान गरेको हो ।
मधेशी पत्रकार समाज रूपन्देही शाखाले आयोजना गरेको पुरस्कार वितरण समारोहका प्रमुख अतिथि ओमसतिया गाउपालिका प्रमुख मन्जित यादव (सोनु)ले पत्रकार यादवलाइ पुरस्कृत गरे । पुरस्कृत यादवलाइ दोसल्ला ओढाएर १० हजार नगद पुरस्कृत गरिएको हो ।
रुपन्देहीमा रहि विभिन्न सञ्चारमाध्यममा काम गरेका स्व. बिन्दु चौहानलाई यस पछिका पुस्ताले समेत उनको योगदान सम्झिने गरि पुरस्कारको स्थापना गरिएको मधेशी पत्रकार समाज नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम बिकास चौधरीले बताए । यसले मधेश क्षेत्रमा रहेका पत्रकारहरुलाई थप सशक्त पार्ने उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश अध्यक्ष चौधरीले स्व.बिन्दु चौहानले रुपन्देहीको पत्रकारीता क्षेत्रमा जोखिम मोल्दै पुर्याएको योगदान बारे चर्चा गरेका थिए। स्व.चौहानको निडर छबि र कार्य कुशलताको सराहना गर्दै इतिहासले उनलाई सम्मान गर्नैपर्ने कार्यक्रमका वक्ताहरूले जोड दिए ।
कोभिड महामारीका कारण २०७८ भदौ २९ गते निधन भएका चौहानको स्मृतिमा गत वर्ष स्थापना गरिएको पत्रकारिता पुरस्कार रूपन्देहीमा रही पत्रकारिता गर्ने एकजना मधेशी पत्रकारलाई प्रदान गर्दै आईएको छ ।
गतबर्ष २०७९ मा भैरहवाका पत्रकार मोहम्मद हबिबलाई सो पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा स्व. पत्रकार बिन्दु कुमार चौहानका छोरा अमित चौहान, लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology