काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले मुलुकभित्रै प्रशस्त स्रोत र सम्भावना हुँदा पनि काठजन्य सामग्रीहरु विदेशबाट आयात हुनु राष्ट्रिय अर्थतन्त्रको लागि सुखद् नभएको बताएका छन ।
बुधवार फर्निचर फर्निसिङका उत्पादनको वृहत प्रदर्शनी, २०२३ उद््घाटन कार्यक्रममा बोल्दै मन्त्री रिजालले यस्तो बताएका हुन । उनले नेपालमा नै काठजन्य वस्तुहरुको उत्पादनमा प्रशस्त सम्भावना रहेपनि विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको बताए । उनले काठजन्य वस्तुहरु विदेशबाट आयात हुनु मुलुकको अर्थतन्त्रको लागि राम्रो पक्ष नभएको बताए ।
उनले वन पैदावारबाट हुने कच्चा पदार्थमा आधारित सामाग्रीहरुको फर्निचर तथा फर्निसिङ व्यवसायले आत्मनिर्भर बनाउन आवश्यक रहेको बताए । उनले देशभित्रै उपलब्ध हुनसक्ने कच्चा पदार्थको सहज उपलब्धता र उत्पादन सरकारले नीतिगत र कानूनी सुधार गर्न तयार रहेको बताए । उनले नेपालमा हरेक वर्ष अर्बौं रुपैयाँको फर्निचर तथा फर्निसिङका सामग्रीको खपत हुँदै आइरहेको बताए । उनले फर्निचर तथा फर्निसिङ क्षेत्रमा भएको लगानीबाट सिर्जना गरेको रोजगारी र राजश्वमा राज्यलाई पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए ।
उनले ठूलो लगानी भएपनि फर्निचर क्षेत्रमा आधा भन्दा बढी आयातित सामानमा निर्भर हुनुपर्ने बाध्यतालाई सुधार गर्न आवश्यक रहेको उल्लेख गरे । उनले सरकारले आन्तरिक उत्पादन बढाउने आयात घटाउने नीतिलाई प्राथमिकता दिँदै आएको दाबी गरे । उद्योगमन्त्री रिजालले नेपालको मौलिक कला संस्कृति झल्कने र स्थानीय कच्चा पदार्थमा आधारित हस्तकलाका सामानलाई समेत फर्निसिङ व्यवसायमा आवद्ध गरी प्रवद्र्धन गर्न आवश्यक रहेको बताए।
उनले सरकारले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नको लागि सार्वजनिक खरिदमा स्वदेशी उत्पादनलाई १५ प्रतिशत सम्मको बढी मूल्य स्वीकार गरी खरिद गर्दै आइरहेको बताए । उनले मुलुकको आत्मनिर्भर अर्थतन्त्रका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुन जरुरी रहेको उल्लेख गरे ।
नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेशकुमार अग्रवालले फर्निचर तथा फर्निसिङमा काम गर्ने दक्ष कामदारको अभावले उद्योग नै धरासायी बन्ने सम्भावना बढ्दै गएको बताए । उनले पछिल्लो समय दक्ष जनशक्तिको अभावको कारण उत्पादन क्षमता समेत घट्दै गएको बताए । उनले सीप र तालिमको अभावले फर्निचर तथा फर्निसिङका सामानहरु लोप हुने सम्भावना बढेको बताए । उनले काठजन्य वस्तुहरु उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरु नेपाली वन भित्रै कुहिएर भन्दै सरकारले काठ तथा काठजन्य वस्तुहरु फर्निचर उत्पादनको लागि सहज रुपमा उपलब्ध गराउने व्यवस्था गर्न माग गरे ।
बुधवारदेखि शुरु भएको फर्निचर तथा फर्निसिङ मेलामा १०० भन्दा बढी स्टलहरु रहेका छन् । मेलामा ५० हजार भन्दा बढी अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology