राजेश पराजुली, पोखरा । उन्नत जातको मुर्रा राँगो नेपालगञ्जको जमुनाह नाका, बुटवल हुँदै पोखरामा ल्याइएको छ । भारतले नेपाललाई अनुदानमा दिएका १५ वटा राँगा मध्ये ७ वटा पोखरामा ल्याइएको हो । पोखरामा ल्याइएका राँगालाई राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा राखिएको छ । अब यी राँगाको बिर्य संकलन गर्नुअगाडि २१ दिन क्वारेन्टिनमा राखिने राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख पशु विकास अधिकृत डा.जगदीश पाण्डेयले बताए । एउटा राँगाबाट वार्षिक २० हजार डोज बिर्य उत्पादन हुने अनुमान गरिएको उनले जनाए ।
उन्नत जातको ७ वटा मुर्रा राँगो पोखरा ल्याइएपछि पोखरा र यस क्षेत्रका भैसीपालक कृषक लाभान्वित हुने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताएका छन् ।
प्रमुख आचार्य सामाजिक सञ्जालमा लेख्छन्–‘भारतबाट उन्नत नश्ल र मुल्यका मुर्रा जातका राँगा ल्याउने काम पुरा भएको छ । १५ मध्ये ७ राँगा पोखरा स्थित पशु प्रजनन बिकास केन्द्र ( भेडिफारम) मा ल्याईएको छ । यसबाट पोखरा र यस क्षेत्रमा उच्च जात र नश्लको भैसि पालक कृषकहरु बिशेष लाभान्वित हुनुहुनेछ । यस अतुलनिय प्रयासको लागि सम्पूर्ण सहयोगी हातहरु प्रति हार्दिक आभार’ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गत जेठमा भएको भारत भ्रमणका क्रममा नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । सोहीअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा पठाएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology