देवदह । आठौं देवदह महोत्सव यहि माघ २५ गतेदेखि सुरू हुने भएको छ । आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव - २०८० को ब्यानरमा माघ २५ देखि फाल्गुन ८ गतेसम्म देवदह-९ स्थित देवदह मण्डपमा महोत्सव संचालन हुने आयोजक संस्था देवदह उद्योग वाणिज्य संघले जनाएको छ । बुधबार देवदहमा पत्रकार सम्मेलन गर्दै देवदह उद्योग वाणिज्य संघले महोत्सवको आयोजना र यसको तयारीबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष हरि भण्डारीले शान्तिका अग्रदुत महामानव सिद्धार्थ गौतम बुद्धको पवित्र मावली स्थल देवदह क्षेत्रका व्यवसायी र उद्योगीहरुको संरक्षण, संवर्द्धन र विकास गरी उद्योगी र व्यवसायीहरुमा एकता र मैत्रीपूर्ण भावनाको वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको बताए । "राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ एवम् सबल बनाउन उद्योग तथा वाणिज्य क्षेत्रका व्यवसायीहरुको संस्थागत विकास गर्ने उद्देश्यले आठौँ देवदह महोत्सव आयोजना गरिएको हो" अध्यक्ष भण्डारी भने, "उर्वर कृषि क्षेत्र, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रुपमामात्र नभएर देवदहका ऐतिहासिक स्थलहरू भवानीपुर क्षेत्र, रोहिणी नदि, दह, कन्यामाई, वैरिमाई, पाकरी वृक्ष, खयरडाँडा तथा अन्य विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न पनि महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्नेछ ।"
विविध सांस्कृतिक कार्यक्रम सहित, डान्सिङ्ग आईडल, अन्तर विद्यालय लोकगीत/लोकनृत्य प्रतियोगिता, मम्मी डान्स आईडल, फ्रि स्टाईल थ्री मिनेट कम्पिटिसन, कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज (हात्ती सफारी, रथ यात्रा), योग शिविर, पर्यटकीय स्थलहरुको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव लगायतका गतिविधि हुने महोत्सव संचालनको लागि ५० लाख लगानी लाग्ने आयोजकले जनाएको छ ।
"कृषि, पर्यटन, उद्योग र व्यापार, देवदह नगरको समृद्धिको आधार" भन्ने मूल नारासहित संचालन हुने महोत्सवमा १५० व्यावसायिक स्टल सहित कृषि र पर्यटनका अलग्गै स्टल रहने छन् । महोत्सवलाई व्यवस्थित रूपमा संचालन गर्न २३ वटा उपसमिति गठन गरिएको र एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य लिईएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
१० करोडको व्यापार लक्ष्य राखिएको महोत्सवबाट हुने आम्दानीको पाँच प्रतिशत रकम देवदहका पर्यटकिय पूर्वाधार निर्माणमा लगाईने आयोजकले जनाएको छ ।
हरेक दिन बिहान ९ बजेदेखि बेलुका ८:३० सम्म अवलोकन गर्न सकिने मेलाको प्रवेश शुल्क सर्वसाधारणलाई ८० रूपैयाँ र विद्यार्थीलाई ६० रुपैंयाँ कायम गरिएको छ । जेष्ठ नागरिक र विशिष्ट शारीरिक क्षमता भएकाहरूलाई परिचय पत्रको आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाईने आयोजकले जनाएको छ ।
महोत्सवको संरक्षक देवदह नगरपालिका रहेको छ भने प्रवर्द्धक नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश तथा सहयोगी संस्थाको रूपमा देवदह व्यापार संघ, उद्योग व्यापार संघ देवदह, बुटवल उद्योग वाणिज्य संघ र प्रगति सामुदायिक वन रहेका छन् ।
देवदह व्यापार संघ, देवदह उद्योग वाणिज्य संघ र उद्योग व्यापार संघ देवदह गरि तीन व्यावसायिक संस्थाले हरेक वर्ष आलोपालो महोत्सव संचालन गर्ने देवदहमा वि.स. २०७१ सालबाट महोत्सव संचालन हुँदै आएको छ । २०७१ सालमा रूपन्देहीमा बुटवल र भैरहवापछि पहिलोपटक देवदहमा उद्योग व्यापार संघ देवदहले देवदह-५ स्थित पानबारी मैदानमा महोत्सव संचालन गरेको थियो । त्यसयता देवदहमा कोरोना महामारीको अवधिमा बाहेक हरेक वर्ष महोत्सव संचालन हुँदै आएको छ ।
देवदह उद्योग वाणिज्य संघसंग वि.स. २०७२ साल फागुन १८ देखि २९ सम्म पहिलो पटक दोस्रो देवदह महोत्सव र वि.स. २०७५ साल फागुन १६ देखि २७ गतेसम्म पाँचौ देवदह महोत्सव आयोजना गरेको अनुभव छ ।
संघले मेला महोत्सव बाहेक देवदह क्षेत्रका उद्योगी व्यवसायीहरुलाई लक्षित गरी व्यवसायिक तालिम, लेखा तथा कर प्रशिक्षण कार्यक्रम, व्यवसायिक विकास योजना तालिमलगायतका व्यवसायिक क्षमतावृद्धिका कार्यक्रमहरू पनि गर्दै आएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology