रुपन्देही । रुपन्देहीको देवदहमा रोट्रऱ्याक्ट देवदह क्रिकेट कप-२०८० सुरु भएको छ । रोट्रऱ्याक्ट क्लब अफ तिलोत्तमा देवदहद्वारा आयोजित प्रतियोगिताको उद्घाटन देवदह नगरपालिकाका उप प्रमुख विद्या लक्ष्मी गुरुङले गरेकी हुन ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरुङले खेलकुद क्षेत्रको विकासका लागी देवदह नगरपालिकाले विभिन्न किसिमका खेलकुद प्रतियोगिता गर्दै आईरहेको बताइन । उनले अबका दिनमा खेल खेलाई रहने मात्र भन्दा पनि खेलाडी उत्पादन तर्फ सोच्न र खेलाडीहरुको भविष्यको बारेमा सोच्न जरुरी रहेको बताइन। साथै क्लबले विगतमा गरेका विभिन्न सामाजिक कामको प्रशंसा गर्दै क्लबलाई धन्यवाद व्यक्त गरिन ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद एकाउन्न हजार एकाउन्न रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोश्रो हुने टिमले नगद पच्चिस हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा २४ टिमको सहभागिता रहेको र सबै खेल देवदह-७, शितलनगर स्थित डि.सि.यु. ग्राउण्डमा खेलाईने आयोजकले जनाएको छ।
कार्यक्रममा देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, डि आर आर ईलेक्ट बिक्रम क्षेत्री लगाएतले आ-आफ्नो भनाई राख्नु भएको थियो। कार्यक्रममा रोट्रऱ्याक्टर सुरज खरेल, देवदह क्रिकेट युनिटका पुर्व अध्यक्ष अजय थापा मगर, रबि बल्लभ रेग्मी, स्थानीय सामाजसेवी तथा खेलप्रेमीहरुको उत्साहजनक सहभागीता रहेको थियो। कार्यक्रम क्लबका अध्यक्ष विक्रम भुषालको अध्यक्षता, क्लबका उपाध्यक्ष प्रविन गौडेलको स्वागत र सन्दिप पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।
उद्घाटन खेल
प्रतियोगिता को पहिलो खेलमा देवदह क्रिकेट युनिटले २६ रनको अन्तरले रोयल भेरवालाई पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको देवदह क्रिकेट युनिटले १६ ओभरको समाप्तिमा १ सय ११ रनको लक्ष्य दिएको थियो । डिसियुका लागि रोहित वाग्लेले २७ र रोशन गौतमले २५ रन बनाएका थिए। पहिलो ईनिङमा रोयल भेरवाका सन्देशले आफ्नो टिमका लागि ३ विकेट लिएका थिए ।
त्यस्तै १ सय ११ रनको लक्ष्य पछ्याएको रोयल भेरवा ८५ रनमा अल आउट हुन पुग्यो । रोयल भेरवाका लागि सोनुले १४ रन, अक्लेसले १७ रन र विश्वाजितले १५ रन बनाएका थिए। उक्त खेलमा डिसियुका रोशन गौतम र विप्रसन केसीले २-२ विकेट लिएका थिए।