देवदह । शान्ति विना देश समाजको विकास हुन नसक्ने देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले बताएका छन । बिहिबार देवदहमा अस्थाई प्रहरी चौकी ढेकावरको नवनिर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख खरेलले समाजमा हुने अपराध नियन्त्रण गर्न प्रहरी प्रशासनको मात्र नभई आमनागरिकको समेत दायित्व भएकोमा जोड दिए ।
देवदह नगरपालिका–१, ढेकावरमा अस्थाई प्रहरी चौकी स्थापना भएसंगै यस क्षेत्रमा हुने अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न सहज भएको उनले बताए ।
सोही अवसरमा बोल्दै नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले नागरिक र प्रहरीको सहकार्यले मात्र शान्ति कायम हुने धारणा व्यक्त गरिन । पछिल्लो समय देवदह क्षेत्रमा चोरीका घटनाहरु बढिरहेको बताउदै उनले चोरीका घटना न्यूनिकरण गर्न र चोरी गर्नेलाई प्रक्राउ गरी कार्यवाही गर्न प्रशासन लाग्नु पर्नेमा जोड दिईन ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक कुवेर कठायतले नागरिकको प्रहरीप्रति विश्वास बढ्ने गरी काम गर्नु पर्ने बताए ।
प्रहरी सुरक्षित भएमात्र नागरिक र समाजको सुरक्षा प्रदान गर्न सकिने उल्लेख गर्दै डिआइजी कठायतले सुरक्षा प्रदान गर्ने प्रहरी प्रशासनको काम भएकोले नागरिक प्रति उत्तरदायित्व भएर सेवा प्रदान गर्न आग्रह मातहतका प्रहरी कर्मचारीलाई निर्देशन गरे ।
कार्यक्रमको उदेश्य प्रकाश पार्दै रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत विकले देवदहको शान्ति सुरक्षा कायम गर्नको लागि अस्थाई प्रहरी चौकी स्थापना गरिएको बताए । देवदह नगरपालिकाको करिव १८ लाखको लागतमा प्रहरी चौकीको भवन निर्माण गरिएको उनले जानकारी दिए ।
रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरत विकको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर कुवर, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल लगायतले आ–आफना भनाई राखेका थिए ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology