दीक्षान्स खड्का, मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ चुरियामाईमा रहेको दक्षिण एशियाकै पहिलो सुरुङमार्गको पुननिर्माण शुरु भएको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडास्थित चुरियामाई सुरुङमार्गको पुनर्निमाण सुरु भएको हो ।
आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उक्त सुरुङमार्ग पुननिर्माणको शिलान्यास गरेका छन ।
शिलान्यास कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले देशकै पहिलो चुरियामाई सुरुङमार्गको संरक्षण र सम्बद्र्धन आवश्यक रहेको बताए ।
मुख्यमन्त्री पौडेलले इतिहासको प्रचारप्रसार गर्न तथा पर्यटन प्रवद्र्धन गर्नको निम्ति प्रदेश सरकारले सुरुङमार्गको पुननिर्माणको काम शुरु गरेको बताए । उनले चुरियामाई सुरुङमार्गलाई अध्ययन गर्ने स्थलका रुपमा विकास गरिने समेत बताए ।
यसैगरि कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले पुनर्निर्माणको जिम्मा पाएको माउण्टेन इन्फ्रा कम्पनीलाई समयमै पुननिर्माणको काम सम्पन्न गर्न आग्रह गरे । उनले देश सुरुङमार्गमा प्रवेश गरिसकेको बताउँदै भीमफेदीदेखि कुलेखानीसम्ममा निर्माण हुन लागेको पोस्टबहादुर बोगटी सुरुङमार्गको चाँडैनै टेण्डर खुल्ने दाबी गरे ।
मन्त्री फुयाँलले प्रदेशसरकारले जनचाहना अनुरुप काम गरेको बताउँदै ५ वर्षनै मुख्यमन्त्री पौडेलकै सरकार रहने दाबी गरे । उनले प्रदेश सरकारले हालसम्म ५० वटा पुलहरु निर्माण सम्पन्न गरिसकेको र अझै डेड वर्षमा ५० वटा पुलहरु निमार्ण गर्ने जानकारी दिए । मन्त्री फुयाँलले प्रदेश सरकारले १ सय वटा सम्पदा संरक्षणको कार्यक्रम,साना तथा ठूला गरी १ सय वटा सिचाँई निर्माण कार्यक्रम,एक घर एक धारा लगाएतका अभियान कार्यक्रम अघि बढाएको बताए । उनले प्रदेश सरकारले करिब ४ सय किलोमिटर कालोपत्रे सडक निमार्ण गरेको समेत बताए ।
शिलान्यास कार्यक्रममा बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डा. सहदेव बहादुर भण्डारीले प्रदेश सरकारले ३ करोड ३६ लाख १३ हजार ८७८ रुपैँया लागतमा पुननिर्माण गरेर फेरि सञ्चालनमा ल्याउन लागेको बताए । उनले पुननिर्माण कार्य २०७९ बैशाख सम्म सम्पन हुने बताए ।
चन्द्रशम्शेरको पालामा निर्णाण गरिएको उक्त मार्ग पाँच सय मिटर लामो,नौ फिट चौडाइ र १० फिट उचाइ रहेको थियो । पछिल्ला वर्षहरुको पहिरा,भुकम्पले विभिन्न भागमा क्षति भएपछि हाल उक्त मार्ग करिब दुई सय ८० मिटरमात्र बाँकी रहेको छ ।
उक्त सुरुङ मार्ग नजिकै चर्चित चुरियामाईको मन्दिर रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology