लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–८ खिन्चोक बेँसीका ३५ वर्षीय राजेन्द्र विकलाई परम्परागत काठका ठेकी व्यवसायबाट जीविकोपाजृनमा समस्या हुन थालेको छ । विसं २०७२ देखि श्रीकृष्ण हस्तकला उद्योग दर्ता गरेर ठेकी व्यवसाय सुरु गरेका विकलाई हिजोआज ठेकी बिक्री हुन छाडेपछि समस्या हुन थालेको हो ।
परम्परागत रुपमा गाईभैँसी पाल्ने किसान घट्दै जाँदा र आधुनिक सामग्री प्रयोग गर्न थालेसँगै काठका ठेकीको व्यवसाय कम हुन थालेको भन्दै यो पेसाबाट जीविकोपार्जनमा समस्या हुन थालेको विकले बताए । परम्परागत काठका ठेकी बनाउने पेसाबाटै आफ्ना बाबा र ठूलो दाइले परिवार सहज रुपमा चलाए पनि यहीँ पेसा आफूले गर्दा आम्दानी हुन नसकेको उनको भनाइ थियो ।
विकले बाबापछि दाजुले चलाएको र दाजुपछि त्यही कारखानामा आफूले काठका ठेकी बनाउँदै आएको बताए । कुमालको चक्र जस्तै घुम्ने बिजुलीको मेसिनमा बिहानदेखि साँझसम्म ठेकी बनाउने कारखानामा उनी व्यस्त छन।
उनले ठेकी बनाउनका लागि जस्तापाताको छानाभित्र लडिरहेका काठका मुढालाई सुम्सुम्याउँदै कहिले यता र कहिले उता पल्टाउछन । कुन काठबाट कस्तो र कुन आकारको बनाउने भन्नेमा आफ्नो दिन बित्ने राजेन्द्रले बताए । लामो फलामको छिनो, धारिलो टुप्पो अलिअलि कुप्रिएको त्यही छिनोले काठका मुढा कोट्याएर काठका ठेकी तयार गर्दै बिक्री गरेर आम्दानी हुने उनको भनाइ थियो ।
विकले यसअघि विभिन्न देशमा काम गरेर स्वदेश फरकेका थिए । तीन÷चार पटक विभिन्न देशमा पुगे पनि राम्रो आम्दानी प्रशस्त नभएपछि स्वदेश फर्किएको विकले बताए । “सन् २००५ मा कतारमा दुई वर्ष काम गरेँ । महिनाको रु सात÷आठ हजार मात्र कमाइ हुन्थ्यो । यहाँ गर्दै आएको काम छाडेर सन् २००९ मा साउदी गएँ र सन् २०१३ मा फर्किएँ”, उनले भने ।
विकले विदेशमा मासिक रु २२ हजारसम्म कमाइ हुने गरेको बताए । “न विदेशमा राम्रो कमाइ भयो, नत स्वदेशमा नै । आफूसहित परिवारमा श्रीमती र तीन छोरा गरी पाँचको परिवारको जीविकोपार्जनमा समस्या हुन थालेको छ”, उनले भने ।
काठबाट थाल, कचौरा, पानी खानो करुवा, बत्ती बाल्ने दियो, काठका पाला, वाइन कप, ठेकीलगायत सबै सामग्री बनाउने गरेको विकको भनाइ थियो । उन का अनुसार रु चार सयदेखि १५ हजारसम्मको प्रति सामग्री तयार हुन्छ । गतवर्ष रु पाँच लाख बराबरको काठका सामग्री बिक्री गरेपनि घाटा भएको उनले बताए ।
दुई जना मान्छे राखेर मासिक प्रतिव्यक्ति रु २० हजारका दरले पारिश्रमिक दिएर दुई महिना काम लगाउँदा आम्दानी हुन नोक्सानी भएको विकले बताए । गत चैतैदसैँदेखि दोर्दी गाउँपालिकाले केही सामग्री खरिद गरेर लैजाने गरेको उनको भनाइ थियो ।
विकले गत मङ्सिरयतादेखि व्यवसाय नभएको भन्दै साउनदेखि कात्तिकसम्म केही मात्रा बिक्री भएको बताए । व्यापार हुएको समयमा दैनिक रु पाँच सय भन्दाबढी बचत हुने उणको भनाइ थियो ।
गाउँपालिका अध्यक्ष युवराज अधिकारीले परम्परागत काठका ठेकी बनाउने व्यवसाय लोप हुँदै गएको भन्दै यसको संरक्षणमा आफू लागिपरेको बताए । विगतमा धेरै ठाउँमा यस्ता सामग्री बनाउने भए पनि अहिले पालिकाभरी दुई जना मात्र रहेको जनाउँदै उनले पालिकाले उनीहरुले उत्पादन गरेका ठेकीको प्रवद्र्धन गर्न थालेको जानकारी दिए।
पालिकाले मायाको चिनो स्वरुप उनीहरुले बनाएको ठेकी दिन थालेको भन्दै विद्यालय तथा अन्य महोत्सवहरुमा पनि मायाको चिनोस्वरुपत् यस्ता ठेकी दिनलाई उनले सबैलाई आग्रह गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology