अहिले हाम्रो समाजमा अनेक चरित्र बोकेका युवाहरु पाइन्छन् । दल वा नेता विशेषको पछि लाग्ने, पिए बन्ने, श्रम नगरि सम्पत्ति कमाउने, ठेक्कापट्टा र सबै अबैध कार्यमा सेटिंग मिलाउने- एउटा, लोकसेवा बाहेक अरु केही नजान्ने, विदेश बाहेक अरु सुन्दै नसुन्ने - दोस्रो । र, सामाजिक सेवामा जोडिन खोज्ने, व्यापार व्यवसाय गर्ने, दिनरात श्रम गर्ने तर राज्यले नहेरेको र राज्यका सेवा सुविधाको पहुँचबाट टाढा रहेको - तेस्रो युवा हाम्रो समाजमा भेटिन्छन् । कुनखाले युवा चरित्र समाजका लागि सही र कुन खाले गलत छ्न्, सो कुरा छुट्याउन आवश्यक छ । यस लेखमा विशेषतः युवाका ३ प्रवृत्तिगत बिशेषतालाई जोड्न खोजिएको छ ।
राजनीतिलाई व्यवसाय ठान्ने 'झिङ्गे' युवा
राजनीतिलाई व्यवसाय ठान्ने यो 'झिंगा' युवा प्रवृत्ति हो । त्यो युवा जो मेहनत गर्दैन, पसिना श्रम भन्ने थाहा नै छैन, आफू खासै काम गर्दैन, तर समाजमा उसकै बोलबाला चल्छ । पुलिस, प्रशासनदेखि स्थानीय, प्रदेश तथा संघीय सरकारका जनप्रतिनिधि र कर्मचारीमा उसैको पहुँच देखिन्छ । पछिल्लो समयमा हाम्रा वरपर यस्ता खाले युवा प्रशस्त भेटिन्छन् । चिया पसलदेखि रेस्टुराँसम्म यिनैको सबैकुरा चल्छ । यस्ता प्रवृत्ति भएका युवाहरु एउटा राजनीतिक दलको सदस्यता लिने, उपल्लो स्तरका नेतासङ्ग फोटो खिच्ने, तिनैको चाकडी गर्ने र हरेक क्षेत्रमा पहुँच निर्माण गर्ने काममा तल्लित हुन्छन् ।
उनीहरु पहुँचकै आधारमा स्थानीय स्तरका ठेक्कापट्टामा संलग्न हुने, नदिजन्य पदार्थ दोहन गर्न तथा वन जङ्गलका काठ, दाउरा बिक्रि गर्न सेटिङ्ग मिलाउने काममा संलग्न हुन्छन् । जसरी होस आफू अनुकुल कार्य गर्ने, अनुकुल नमिले मान्छे थर्काउने, हातपात गर्नेजस्ता अराजक गतिविधि गर्ने, अन्य दल वा विचार नमिल्ने युवालाइ काम गर्न रोक्ने, भनेको नमान्ने पुलिस वा कर्मचारीलाई सरुवा गर्न पहल गर्नेजस्ता क्रियाकलापमा यस्तो प्रवृत्तिका युवाहरु सक्रिय हुन्छ्न् । राजनैतिक दलमा युवाको संघ संगठनमा जिम्मेवारी लिने, त्यसको दुरुपयोग गर्ने, चुनाबको बेला युवा जम्मा पारेर गतिविधि गर्ने कार्यमा सक्रिय यस किसिमका युवाहरु सेवा भावका सामाजिक कार्यहरुमा खासै देखिदैनन् ।
आफुलाई फाइदा हुने बाहेकका काममा उनीहरुको रुचि हुँदैन । तल्लो वर्ग र सामान्य जीवनस्तर अंगाल्ने मानिससङ्ग यस्तो युवा जोडिन रुचाउँदैन । राजनीतिक पहुँचका भरमा माथिबाटै सबै चलाउन खोज्ने र नेताको संरक्षणमा सबैखाले गतिविधि संचालन गर्ने उनीहरुको प्रबृत्ति हुन्छ ।
सामाजिक रुपमा इमान्दार र नैतिकवान बनेर आदर्शको रुपमा स्थापित हुनुपर्नेमा राज्यलाई नै नोक्सान गराउन यस्ता युवाहरु उद्धत हुन्छन् । अपराधिक क्रियाकलापमा जोडिन सक्ने र सामाजिक मुल्य मान्यताको धजिया उडाउन सक्ने भएकोले यस्तो युवा प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने देखिन्छ । यो देश विगार्ने युवा हो । यस्तो झिंगे प्रवृत्ति, जो राजनीति र बैध-अबैध शक्ति शक्तिमा बस्ने र त्यहाँको रोग समाजमा सार्ने कार्य गर्छ । यसले सम्पूर्ण समाजलाई नै रोगी बनाउँछ । यसलाई धपाइनुपर्छ ।
विदेशको सपना देख्ने 'पुतली' युवा
यतिबेला देशमा युवाशक्ती बाहिरिने क्रम दिनहँजसो बढ्दो देखिन्छ । वैदेशिक पलायन भुसको आगो सरि सल्किएको छ । यसलाई कुनै दमकलले पनि निभाउन नसक्ने स्थिति बन्दैछ । यो देशमा केही हुँदैन, बस्न लायक छैन, यहाँका नेता कर्मचारी चोर फटाहा छ्न् भन्ने मौखिक प्रचारले ब्यापकता पाएको छ । जसले गर्दा १२ कक्षा उत्तिर्ण हुनासाथ उनीहरुले देशमा बसेर अगाडिको उच्च शिक्षा हासिल गरौं वा देश मै केही गरौं भन्ने सोच्न छोडिसकेका छन् । त्यस्ता युवाहरुको एउटै सपना छ, विदेश । त्यो बाहेक अरु उद्धेश्य नै छैन । यो प्रवृत्ति पनि देश र समाजका लागि हानिकारक मान्न सकिन्छ ।
अहिले विज्ञान र प्रविधिको युगमा विश्व सानो घर जस्तो भैसकेको छ । तथापि हामीकहाँ विदेश जानुलाइ ठूलो मुद्दा बनाएर मनोबैज्ञानिक धन्दा चलाइएको छ । यहाँका विश्वविद्यालयहरु विद्यार्थी नभएर बन्द गर्नुपर्ने अवस्थामा पुगिसकेका छन् । राज्यले युवा रोक्न ठुलै कदम उठाउन पर्ने देखिन्छ ।
बिशेषतः पछिल्लो युवा सूचना र प्रविधिमा निकै अगाडि छ । विश्वका हरेक सूचना सजिलै प्राप्त गर्न सक्छ । विश्व समुदाय चन्द्रमामा पुगिसकेको छ, तर हामीकहाँ सामान्य कामको लागि घन्टौ समय बिताउन पर्ने स्थिति छ । एउटा सवारी लाइसेन्स पाउन बर्ष दिन लाग्छ । एक सय किलोमिटर बाटो बन्न दशौं बर्ष लाग्ने गर्छ । पहुँचका भरमा जागिर दिने काम हुँदा निमुखा तर सक्षम ब्यक्ति बेरोजगार बन्न बाध्य हुन्छन् । यी र यस्ता घटनाक्रमले यहाँका नीति निर्माताप्रती अहिलेको युवाले रत्ती भर विश्वास गर्न सकेको छैन । अनि अर्को कुरा विश्वविद्यालयमा प्रवेश गरेपछी अलिअली कमाउदै पढ्दै गर्ने वातावरण बनाइनु पर्नेमा त्यसो हुन सकेको छैन । समयमा परिक्षा लिने र नतिजा दिने प्रणाली नै ध्वस्त भएको छ । ४ बर्षको स्नातक तह पुरा गर्न ५÷६ बर्ष लाग्छ । त्यसैले पनि शिक्षासंगै कामको लागि यूवाले विदेश नै ताकिरहेको छ ।
त्यस्तै यहाँ व्यापार ब्यवसाय गरेर बसेकाहरु पनि पछिल्लो समय अर्थतन्त्रमा आएको संकटका कारण प्रताडित छन् । कोभिडको असरले सम्पूर्ण आर्थिक चक्र बिग्रनु र बैंक बित्तिय संस्थाको चर्को ब्याजदरको चपेटामा परेर युवा ब्यवसायिहरु विदेशिन बाध्य छन् । अर्थतन्त्रको यो संकटलाइ चिर्न राज्यले जुन हिसाबले मेहनत गर्नुपर्ने हो, त्यसरी गरिरहेको देखिदैन । राज्य रेमिटान्स भित्राएको कुरामा गर्व गर्छ । घट्दो उत्पादन र बढ्दो परनिर्भरतालाई राज्यले नजर अन्दाज गरेको पाईन्छ । दीर्घकालीन असर गर्ने यस्तो विषय प्रति राज्य गम्भिर छैन । बैदेशिक पलाएन रोक्न र युवालाइ देशमै काम गर्ने वातावरण तयार गर्न राज्य पुरै यू टर्न हुनुपर्ने देखिन्छ । युवालाई स्वरोजगार र उद्यमशिलतासंग जोड्न वर्तमान कानुन कतिपय अवस्थामा बाधक बन्ने गरेको छ । यस तर्फ ध्यान दिने कसले ?
यसरी धनी भनिने पश्चिमा देशमा कुदिरहेको यो युवा जमातलाई 'पुतली' युवा भन्न सकिन्छ । यसलाई विदेश होइन, देशको युवा उद्यमीको फूलबारीमा उडाउन राज्यले ठोस नीति तय गर्नुपर्छ । आज अरूको देश सिंगार्न कस्सिएको यो युवाले अवसर पाए, आफ्नै देश सिंगार्न सक्छ ।
देशमै सङ्घर्ष गरिरहने 'मौरी' युवा
हामीकहाँ तेस्रो प्रबृत्तिको युवा पनि छ, देशमै संघर्ष गरिरहने 'मौरी' युवा प्रवृत्ति । जसले देशमै सम्भावना खोज्दैछ । कृषि, पर्यटन, सूचना-प्रविधिजस्ता क्षेत्रमा त्यस्तो युवा लागिपरेको छ । राज्यको तिनै निकाय स्थानीय, प्रदेश र संघले उपेक्षा गर्दै आएको कृषि क्षेत्रमा उसले भविष्य देखिरहेको छ । तर पनि उसको मेहनत न कुनै निकायले देखेको छ, न सुनेको नै !
यस्तो युवाले गरिरहेको कृषिका लागि समयमा मल खाद उपलब्ध हुदैन, सिंचाई, बीउ बिजनमा उस्तै समस्या छ । उत्पादनपछि बजारको सुनिश्चितता छैन । बस्तुभाउ कुखुरा हास बङ्गुरको बिमा गर्न गार्हो छ । लगानीको सुनिश्चितता छैन, तरपनी उसले कृषिको सपना देख्न छाडेको छैन ।
उसले कृषि उद्यम सुरु गर्न ऋण धन आफै गरेको छ, कठिन दर्ता प्रक्रिया, विद्युत लगायत अन्य अत्यावश्यक प्राविधिक काममा समेत हजारौं रुपैया अतिरिक्त बुझाएको छ । तर पनि हरेक बर्ष फर्म नविकरण गरि कर जस्ता राज्यलाइ तिर्न पर्ने दायित्व उसले पूरा गर्दै आएको छ । कुन बेला बैंङ्क तथा बित्तिय संस्थाको ब्याज कति पुग्छ उसलाई थाहा हुँदैन । सम्पुर्ण दायित्व बोकेर सबै सिस्टमसङ्ग लड्दै उ देशमा कृषि उद्यम गर्न कस्सिएको छ ।
हुरी बतास, बर्षा, खडेरी सबै देखेको छ । प्राकृतिक बिपत्तिको सामना गर्ने जिम्मा आफै लिएको छ । सहयोग गर्न न उ संग राज्य संयनत्र छ, न त अन्य कुनै निकाय ! तरपनी उ कत्तिपनि बिचलित छैन । समस्यासंग भागेर कहिँ पुगिदैन, सम्भावनाको खोजी आफै गर्ने हो र निरन्तरता सहित मेहनत गरेपछि एकदिन सफल पक्कै भैइन्छ भन्ने सकारात्मक विचार मात्र उसको मन मष्तिष्कमा सवार हुन्छ । पछिल्लो समयको राजनीतिक घटनाक्रम र आर्थिक संकटका बाबजुत छिटपुट रुपमा यस्ता युवाहरु अझै पनि समाजमा भेटिन्छ्न । आफ्नै देशमा मेहनत गरिरहेका युवालाई राज्यले सम्मान गर्नुपर्नेमा यस्ता स्वाभलम्बी युवाहरुप्रति राज्य उदासिन छ ।
पछिल्लो समय धेरै सम्भावना बोकेको क्षेत्र सूचना-प्रविधि (आइटि) हो तर राज्यले यस्तो क्षेत्रमा लाग्न चाहने युवाको उचित पहिचान गर्न सकिएको छैन । न त उनीहरु संगठित नै छन् । ब्यक्तिगत रुपमा आफै काम गरेका छ्न । समाज र राज्यले उनीहरुबाट लिनुपर्ने फाइदा लिन सकेको छैन । वर्षेनी करोडौ रुपैंया देश भित्राउन सक्ने हजारौं युवालाइ रोजगार दिनसक्ने यो क्षेत्रलाई पनि संरक्षण गर्न आवश्यक देखिन्छ ।
अब, राज्यले गम्भीर भएर सोच्नुपर्ने र युवालाइ सम्बोधन गर्नुपर्ने बेला आएको छ । आजको युवा सानो भएपनि उत्पादनसंग जोडिनु पर्दछ । त्यसैगरि सपना नै विदेश जाने देखेका युवालाई राज्यले यहिँ सम्भावना देखाइदिनु पर्नेछ । विदेशबाट फर्केका युवालाई उनीहरुले सिकेको सिपको उचित प्रयोग गरि जीविकोपार्जनसंग जोड्ने वातावरण तयार गरिदिन आवश्यक छ । राज्यको समग्र नीति उद्यमी र परिश्रमी युवा मैत्री हुनुपर्छ । देशको दक्ष युवा जनशक्तिलाई राज्यले संरक्षण गर्न सक्नुपर्छ । रातदिन काम गर्दा पनि ऋणमा डुबेर संसद भवन अगाडि पेट्रोल छर्केर जल्नु पर्ने र सेटिङ्ग अनि पहुँचका भरमा बिना परिश्रम गाडी चढेर हिड्नेमध्ये कुन प्रबृत्तिको युवालाई संरक्षण गर्ने ? युवा नीतिमा यस्ता विषय बहसमा आउन जरुरी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology