देवदह । सिमसिम पानी परिरहेको छ । ट्रयाक्टरले खेत हिल्याउँदै छ । रोपारहरू रोप्नको लागि विउ उखेल्दै छन् । नगरपालिकाका पदाधिकारी र जनप्रतिनिधिसहित स्थानीयहरू खेत रोप्न तम्तयार छन् । असारे मौसमलाई झनै रोमाञ्चक बनाएको छ- पन्चेबाजाले । असार १५ मानो रोपेर मुरी उब्जाउने दिन अर्थात धान दिवसमा देवदहमा देखिएको दृष्य हो यो ।
देवदहस्थित निर्माण बहुउद्धेशीय सहकारी संस्थाले कृषि गरिरहेको वडा नं ८ मा रहेको पाकरी क्षेत्रमा देवदह नगरपालिकाले शनिबार धान दिवस मनायो । नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू र स्थानीयले पन्चेबाजा बजाएर रोपाई गरे ।
औपचारिक कार्यक्रममा बोल्दै नगर प्रमुख ध्रुवप्रसाद खरेलले देवदह नगरपालिकाको प्राथमिकतामा कृषि क्षेत्र परेको बताए । उनले कृषिको विकास विना देशको विकास हुन नसक्ने विचार व्यक्त गरे ।
उपप्रमुख विद्यालक्ष्मी गुरुङले अन्नदाता किसानको सम्मान गरिनुपर्ने बताइन् । उनले कृषि प्रवर्धनमा नगरपालिकाले स्थापनाकाल देखि नै महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको उनको भनाइ छ ।
निर्माण सहकारीका अध्यक्ष मोतिलाल ढकाले चक्लाबन्दी गरेर कृषि गरिनुपर्ने बताए । शितलनगरमा बनेको कोशेली भवनको सहि सदुपयोग गर्न ढिला गर्न नहुने उल्लेख गर्दै ढकालले सहकारीहरूले पनि उत्पादनमा जोड दिनुपर्ने विचार राखे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology