राजेश पराजुली, पोखरा । आज साउन ११ गते हलोक्रान्ति प्रारम्भ भएको दिन । आजभन्दा ७५ वर्ष अगाडि २००६ साल साउन ११ गते सुन्दरबजार नगरपालिका–४ साबिकको दुराडाँडा गाविस–६ अर्चल्यानीको बाटेगरामा ब्राम्हणहरूले सामूहिक रूपमा हलो जोतेको दिन ।
हलोक्रान्तिका जानकारहरूले हलोक्रान्तिका रूपमा साउन ११ गते दुराडाँडामा बर्सेनि हलोत्कर्षक दिवस मनाउने गरिए पनि हलोक्रान्तिलाई राष्ट्रिय दिवसका रूपमा मान्यता दिन र पहिलोपटक हलो जोतेर सामाजिक अभियान सुरु गर्ने अभियान्तालाई राष्ट्रिय विभूति घोषणा नभएकामा उनीहरूले दुःख व्यक्त गरेका छन् ।
हलोक्रान्तिलाई राष्ट्रियस्तरमा चिनाउन हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठान गठन गरी आफूहरूले काम गरिरहेको प्रतिष्ठानका अध्यक्ष डा।लक्षमीकान्त पौडेल बताउँछन् । हलो जोतेको दुराडाँडाको अर्चल्यानीस्थित बाटेगरा परिसरमामा दुई रोपनी जग्गा प्रतिष्ठनको नाममा छ ।
उनकै नामबाट उद्यान, भौतिक संरचना र ब्राम्हणले हलो जोतेको सालिक बनाउन संरचना तयार भएको छ । राज्यले प्रतिष्ठानलाई जिल्लामा मात्रै सीमित नराखी देशव्यापी बनाउन लाग्नुपर्ने र त्यसैका लागि प्रतिष्ठानले झकझक्याइरहेको उनले बताए ।
राणा सरकार मौलाएको जातीय भेदभावसँगै हलिप्रथा अन्त्यका लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जनाले ऐतिहासिक थलो दुराडाँडाको बाटेगह्रामा पहिलोपटक हलो जोतेका थिए ।
हलियाहरूको उन्मुक्ति र छुवाछूतको अन्त्य, कृषिक्रान्ति, निर्वाहमुखी नभई व्यावसायिक, जातीय र लैङ्गिक विभेदबिनाको समावेशी शिक्षा र सामन्त शासन पद्दतिको अन्त्यका निम्ति शुभारम्भ दिवसका रुपमा यो दिनलाई लिनुपर्ने उनले बताए ।
राणा शासनको विरोधमा हलो जोतेको भन्दै तत्कालीन बडाहाकिमले सामूहिक हलो जोत्नेहरूलाई ११ साउन २००७ सालमा पक्राउ गरी जेल हालेका थिए । हलो जोत्ने ब्राह्मणले प्रतिवाद गरेपछि उनीहरू थुनामुक्त भएका थिए ।
‘हलोक्रान्ति’मा सहभागी २७ ब्राह्मणको निधन भइसकेको छ । त्यसको नेतृत्वकर्ता पण्डित तोयानाथ अधिकारीको २०२२ साल, सबैभन्दा कान्छा मायानाथ पौडेलको ०७३ जेठ २८ गते निधन भयो भने त्यसअघि २०७१ पुस ३० गते विष्णुप्रसाद अधिकारीको निधन भएको हो ।
प्रतिष्ठानका सचिव लक्ष्मीकान्त न्यौपानेले तोयनाथको कृषिक्रान्ति, सामाजिक क्रान्ति, राजनीतिक क्रान्ति र शैक्षिक क्रान्तिको चाहना प्रतिष्ठानले पूरा गर्ने बताउँछन् । “व्यावहारिक रूपमा अझै श्रमप्रतिको सम्मान र छुवाछूतको अन्त्य हुन नसकेको बताउँदै न्यौपानेले त्यतिबेला सुरुमात्रै नभएको भए हामी कहाँ हुन्थ्यौँ, थाहा छैन ।”
सामाजिक अभियन्ता तोयनाथले सुरु गरेको क्रान्तिलाई साकार पार्नु दुराडाँडावासीको कर्तव्य भएको उनी बताउँछन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology