सन्तोाष सुनार, प्यूठान । प्यूठान जिल्लाको माण्डवी गाउँपालिका - ३ का वडाअध्यक्ष धनेन्द्र कार्कीले आ.व.२०८०÷८१ मा वडाबाट पाएको सेवा तथा सुविधाबाट दुई लाख ३६ हजार ३५० रूपैयाँ सामाजिक कार्यमा खर्च गरेका छन् । समाजमा जनप्रतिनिधीलाई कमाउनै राजनीति गरेको भन्ने दृष्टिकोणबाट हेरिने भएको हुनाले यसलाई परिवर्तन गर्न र जनप्रनिधिले पनि नि:स्वार्थमा रुपमा जनताको काम गर्छन भन्ने सन्देश प्रवाह गर्न आफुले लिएको पारिश्रमिक सामाजिक काममा खर्चिएको उनको भनाई छ ।
वडाअध्यक्ष कार्की गाउँगाउँमा पुगेर जनताको समस्याहरु बुझ्ने र सेवा गर्ने वडाअध्यक्ष मध्ये एक भएको स्थानीयहरू बताउछन् । उनले परिआएको अवस्थामा घरमै आएर सहयोग गर्ने गरेको स्थानीय दीपक खत्रीले बताए । उनले भने, "उहाँ अरुजस्तो जनप्रतिनिधि हुनुहुन्न, आफ्नै घरका सदस्यलाई जस्तै वडावासीलाई सहयोग गर्नुहुन्छ ।"
त्यसैगरी अर्का स्थानीय रमीदेवी सुनारले पनि आफुलाई अफ्ठेरो परेकोबेला वडा अध्यक्ष कार्कीले सहयोग गरेको बताइन् । "मलाई आवश्यक पर्दा उहाँले आफ्नो गोजीको पैसा सहयोग गर्नुभयो" उनले भनिन् ।
वडा अध्यक्ष कार्कीले आफुले आफ्नो तलबबाट सहयोग गरेका संस्था, समूह र व्यक्तिको सूची संकलन गरेर राखेका छन् । उनले भने, "मेरो कमाई भनेकै मैले समाजमा गरेको सामाजिका कार्य हो, त्यसैले सम्झेसम्म टिपेर राख्ने गरेको छु ।"
कार्कीका अनुसार वडावासीहरुमा निशुल्क कप्युटर तालिम प्रशिक्षक भत्ता, माण्डवीमा आगलागी पिडितलाई सहयोग, सार्वजनिक शौचालय निर्माण, युवालाई खेलकुद सामग्री खरिद, आमा समूह, सिंचाई, तटबन्धन, प्रतिक्षालय निर्माण आदि कार्यमा उनले सहयोग गरेका छन् ।
तपाईं आफ्नो पारिश्रमिक बाड्नुहुन्छ, तपाईंको जीवन चै कसरी चल्छ ? तपाइलाई पैसा चाहिदैन ? भन्ने सेतोमसीको प्रश्नमा उनले आफ्नो इन्टरनेटको बिजनेश भएको र आफुलाई चाहिने कमाई त्यहींबाट हुने हुनाले समस्या नभएको बताए । त्यसैगरि जस्पुरमा रहेको उनको घरको घरबहालसमेत उनको आम्दानीको स्रोत भएको उनले बताए ।
कार्कीले आफुले निर्वाचन जिते वडाबाट पाउने सेवा-सुविधा सामाजिक कार्यमा खर्च गर्ने घोषणा गरेका थिए। उनी गत २०७९ वैशाख २९ गते भएको चुनावमा नेकपा (एमाले)बाट निर्वाचित भएका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology