देवदह । शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परिक्षामा देवदहबाट झन्डै ६७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । देवदहमा संचालित ९ वटा सामुदायिक र ४ वटा संस्थागत विद्यालयबाट परिक्षामा सहभागी ९६५ जना विद्यार्थीमध्ये ६४६ जना अर्थात ६६.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।
देवदह नगरपालिका शिक्षा शाखाबाट प्राप्त तथ्यांक अनुसार ९ वटा सामुदायिक विद्यालयबाट परिक्षामा सहभागी ४२५ जना विद्यार्थी मध्ये २२६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । जसलाई प्रतिशतमा हेर्दा ५३.१८ प्रतिशत हुन आउँछ ।
सामुदायिक विद्यालयतर्फ केरवानी माविको नतिजा सबैभन्दा राम्रो देखिएको छ । ८२ जना विद्यार्थी सहभागी भएकोमा ५६ जना विद्यार्थी उत्तीर्ण गरेको केरवानीले ६८.२९ प्रतिशत नतिजा निकालेको छ । विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले व्यवस्थापन विषयतर्फ शतप्रतिशत नतीजा आएको बताए । "होटल म्यानेजमेन्ट, फाइनान्स र कम्युटर साइन्स विषयतर्फ हाम्रो शतप्रतिशत नतीजा छ ।" उनले भने, "बाली विज्ञानमा एउटा मात्र विषय लागेको हुनाले केही विद्यार्थी पुरक परिक्षामा सहभागी हुनेछन् । त्यसबाहेक हाम्रो नतिजा उत्कृष्ट छ ।"
त्यसैगरी महामाया भवानी माविबाट ६३.८९ प्रतिशत्त विद्यार्थी उत्तीर्ण भएका छन् । ३६ जना विद्यार्थी सहभागी भएकोमा २३ जना उत्तीर्ण भएको विद्यालयले जनाएको छ । देवदह माविले ६०.७१ प्रतिशत विद्यार्थी उत्तीर्ण गरेको छ । ५६ जना विद्यार्थी सहभागी गराएको देवदह माविले ३४ जना विद्यार्थी उत्तीर्ण गराएको हो । यस्तै भविष्य निर्माण माविबाट ५७.१४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ४२ जना सहभागी भएको मध्ये २४ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयले जनाएको छ । खड्ग माविले ५५.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । खड्गबाट २९ जना विद्यार्थी सहभागी भएकोमा १६ जना उत्तीर्ण भएका हुन ।
यसैगरी प्रगति माविले ४८.८४ प्रतिशत विद्यार्थी गराएको छ । प्रगतिबाट ४३ जना विद्यार्थी सहभागीमा २१ जना उत्तीर्ण भए । जनप्रिय माविले ४२.२२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । ४५ जना विद्यार्थी सहभागी भएकोमा १९ जना उत्तीर्ण भएको विद्यालयले जनाएको छ । सिक्टहन माविले ४१.९४ प्रतिशत नतिजा दिएको छ । ३१ जना विद्यार्थी सहभागी भएकोमा १३ जना उत्तीर्ण भएको विद्यालयले जनाएको छ । सिता माविले ३२.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । ६१ जना विद्यार्थी सहभागी भएकोमा सिता माविले २० जना विद्यार्थी उत्तीर्ण गराएको हो ।
यता संस्थागत विद्यालयहरूको समग्र नतिजा ७७.७७ प्रतिशत आएको छ । विद्यालयहरूले दिएको तथ्याङ्क अनुसार देवदहका ४ वटा संस्थागत विद्यालयबाट परिक्षामा सहभागी ५४० विद्यार्थी मध्ये ४२० जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।
जसअन्तरगत संस्थागत तर्फको सेभेनस्टार स्कुलले ९२.३० प्रतिशत नतिजा दिएको छ । विद्यालयका प्राचार्य टिकाराम चापागाइका अनुसार २६ जना विद्यार्थी सहभागी भएकोमा २४ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । १३२ जना विद्यार्थी परिक्षामा सहभागी गराएको देवदह बुद्ध पब्लिक स्कुलले ११३ जना विद्यार्थी उत्तीर्ण गराएको छ । विद्यालयका प्राचार्य कृष्णप्रसाद गैरेले दिएको जानकारी अनुसार विद्यालयका ८५.८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यसैगरी सगरमाथा आवासीय माविले ११५ जना विद्यार्थी उत्तीर्ण गराएको छ । १५५ जना विद्यार्थी परिक्षामा सहभागी गराएको सगरमाथाले ७४.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको हो । ग्रीनप्लान्ट आवासीय माविले ७४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ । देवदह क्षेत्रबाट सबैभन्दा धेरै २२७ जना विद्यार्थी सहभागी गराएको ग्रीनप्लान्टले १६८ जना विद्यार्थी उत्तीर्ण गराएको हो ।
शुक्रबार प्रकाशित कक्षा १२ को परीक्षाको देशभरीको नतीजा ५२.९१ प्रतिशत रहेको छ । गत वर्ष ५०.०९ प्रतिशत भएकोमा यो वर्ष करीब ३ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका हुन ।
देवदहको गतवर्षको नतीजा भने शिक्षा शाखामा रेकर्ड नभएको पाइएको छ । सेतोमसीसंग कुरा गर्दै नगर शिक्षा अधिकृत पर्शुराम ढकालले यो वर्षदेखि तथ्यांक राख्ने व्यवस्था गरिएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology