राजेश पराजुली, पोखरा । पोखरास्थित गीताञ्जली साहित्य परिवारले यस वर्ष दुईजना साहित्यकारलाई पुरस्कृत गरेको छ । पोखरामा आयोजित कार्यक्रममा गीताञ्जली साहित्य रत्न पुरस्कारबाट कल्याण पन्त र रूना साहित्य पुरस्कारबाट असफल गौतमलाई पुरस्कृत गरिएको हो ।
साहित्यका माध्यमबाट राष्ट्रियस्तरमा योगदान दिएकाले प्रोत्साहन स्वरूप दुवै जनालाई सम्मान गरिएको परिवारका अध्यक्ष भानु भण्डारी ‘क्षितिज’ ले जानकारी दिए । दुवै पुरस्कारको राशि जनही रु २५ हजार नगदसहित सम्मानपत्र रहेको छ । प्राडा जगन्नाथ रेग्मीको संयोजकत्वमा गठित प्रतिभा छनोटसमितिको सिफारिसका आधारमा उनीहरूलाई सम्मान गरिएको हो ।प्राज्ञ एवं लोकदोहोरी गायिका हरिदेवी कोइरालाले उनीहरूलाई सम्मान प्रदान गरिन् ।
यसअघि गीताञ्जली साहित्य पुरस्कारबाट डा नारायणप्रसाद अधिकारी, रुद्रबहादुर थापा, प्राडा कुसुमाकर न्यौपाने, प्राडा जगन्नाथ रेग्मी पुरस्कृत भएका थिए । यसैगरी रुना साहित्य पुरस्कारबाट यसअघि रत्नशम्शेर थापा, शङ्कर ज्ञवाली र लक्ष्मण थापा पुरस्कृत भएका थिए ।
रत्न साहित्य पुरस्कार बाट पुरस्कृत व्यक्तित्व पन्त लमजुङको राइनास नगरपालिका-८ मा जन्मिएका हुन् । लघुकथाका कृति प्रकाशन, अनुसन्धानमूलक लेखनका साथै उनी खगोल तथा ज्योतिष विज्ञान र पत्रकारितामा क्रियाशील छन् । उपप्राध्यापकका रूपमा पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत रहेका उनीसँग विभिन्न ग्रन्थको सम्पादन अनुभवसमेत छ । पन्तका ‘समय सन्दर्भ’ र ‘प्रसाद’ दुई लघुकथा कृति प्रकाशित छन् ।
पुतलीबजार नगरपालिका-७ स्याङ्जामा जन्मिएका गौतमले लोकगीत, समीक्षा, गजल, मुक्तक, हाइकु, इतिहाससहित विविध विधाका दर्जन बढी कृति प्रकाशित गरेका छन् । उनी पत्रकारितामा पनि सक्रिय छन् ।
उनी स्वतन्त्र पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्षसमेत हुन् । यसैबीच संस्थाद्वारा बालप्रतिभाको प्रोत्साहनका लागि साहित्यकार तिलक पौडेल स्यार्कोटेद्वारा स्थापित तुलसी मुवा अहिल्या बालप्रतिभा पुरस्कार इडिभा खतिवडालाई प्रदान गरिएको छ । कार्यक्रम परिवारका अध्यक्ष भानु भण्डारी क्षितिजको अध्यक्षतमा भएको थियो ।
सोही अवसरमा मुक्तककार तीर्थराज अधिकारीद्वारा रचित मुक्तक संग्रह सरावतको लोकार्पणसमेत गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology