देवदह । जनपक्षीय संयुक्त संयन्त्र देवदहको अधिवेशन सम्पन्न भएको छ । सोमबार खैरेनीस्थित होटल हेरिटेजमा सम्पन्न संयन्त्रको दोस्रो भेला तथा प्रथम अधिवेशनबाट टंक पोखरेल अध्यक्ष चयन भएका हुन् ।
यस अघि संयोजकको रूपमा काम गर्दै आएका पोखरेललाई नै अधिवेशनले आगामी कार्यकालको अध्यक्ष चयन गरेको संयन्त्रले जनाएको छ ।
२०७९ सालको दोस्रो स्थानीय तह निर्वाचनपछि छायाँ सरकारको भूमिका निर्वाह गर्ने उद्घोषसहित गठन गरिएको संयन्त्रमा नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलहरू सहभागी छन् । तत्कालिन अवस्थामा संयन्त्रमा रहेका दलका नेताले हरेक महिना आलोपालो अध्यक्षको भूमिका गर्ने भनिएपनि स्थायित्व र थप जिम्मेवार बनेर काम गर्ने भन्दै अधिवेशनले एक-एक वर्षमा नेतृत्व हेरफेर गर्नेगरि नयाँ नेतृत्व चयन गरेको हो ।
सचिवालयसहित १९ सदस्यीय कार्यसमिति चयन गरेको संयन्त्रको सचिवमा दिपक न्यौपाने र कोषाध्यक्षमा डम्बर बहादुर थापा चुनिएका छन् । जसको सचिवालयमा नेकपा माओवादी केन्द्रका गोविन्द ठटराई, राष्ट्रिय स्वतन्त्र पार्टीका रुकात्मक भारती, एकीकृत समाजवादीका डिल्लीराम सापकोटा, राष्ट्रिय जनमोर्चाका धनु पाण्डे, विप्लब नेतृत्वको नेकपाका मुक्ति सी र क्रान्तिकारी माओवादीमा भिमलाल काफ्ले रहेका छन् ।
संयन्त्रका नवनिर्वाचित सचिव दिपक न्यौपानेले ५५ जनाको उपस्थितिमा भएको अधिवेशनले देवदहमा प्रतिपक्षको भूमिका निर्वाह गर्ने, र वेथिति तथा भ्रष्टाचारको विरूद्ध संघर्ष गर्ने लगायतका कार्यक्रम अघि सारेको बताए । "कार्य सम्पादनलाई व्यवस्थित र परिणाममुखी बनाउन स्पष्ट कार्ययोजना सहित विभागहरू समेत बनाइएको छ ।"
संयन्त्रले नारायण शर्मा लुइँटेलको संयोजकत्वमा योजना तथा विकास निर्माण विभाग, भिमलाल काफ्लेको संयोजकत्वमा नदी तथा वन विभाग, चोडाप्रसाद चापागाईंको संयोजकत्वमा भुमि तथा सुकुम्बासी विभाग, दिनानाथ सापकोटाको संयोजकत्वमा शिक्षा तथा स्वास्थ्य विभाग र सालिकराम तिवारीको संयोजकत्वमा कृषि तथा परियोजना विभाग बनाएको जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology