काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १५ औँ महाधिवेशनबाट आउने नेतृत्वलाई पार्टीको चिन्ता गर्न सुझाव दिएका छन् ।
कांग्रेसको स्थानीय तह समन्वय विभागले बिहीबार सानेपामा आयोजना गरेको एक समारोहमा उनले अब आउने नेतृत्व सामु चुनौतीसँगै अवसरहरू रहेको पनि बताए ।
‘भोलि आउने नेताले, सभापति हुने नेताले पार्टीको चिन्ता गर्नु, मैले पनि चिन्ता गरेको छु,’ सभापति देउवाले भने, ‘भोलिका दिन चुनौतीसँगै अवसर छन् । चुनौतीलाई च्यालेन्ज गर्ने हो, काम गर्नू । पार्टी बलियो बन्नुपर्छ ।’
सभापति देउवाले पूर्ववर्ती सत्तागठबन्धनका कारण कांग्रेसका नेता–कार्यकर्ताहरूमा देखिएको चिन्ताका कारण असार १७ मा एमालेसँग सहकार्य गरेको पनि बताए ।
‘एमाले–माओवादी एक ठाउँ हुँदा पार्टीका साथीहरू चिन्तित थिए,’ देउवाले भने, ‘यी सबै कुरालाई हेरेर एमालेसँग सहकार्य भएको हो । दुई वर्ष सरकार ओलीले चलाएपछि कांग्रेसलाई छोडिदिनु हुन्छ ।’
सभापति देउवाले अन्य पार्टीलाई सिध्याउने कांग्रेसको कुनै उद्देश्य नभएको पनि जिकिर गरे । ‘दुई पार्टी मिलेपछि अरू सिधिन्छन् भन्छन् । हाम्रो उद्देश्य यस्तो होइन,’ उनले भने, ‘एमालेको पनि यस्तो सोच देख्दिँन ।’
देउवाले गत निर्वाचनमा पार्टीका तर्फबाट विजयी भएर उत्कृष्ट काम गरेका स्थानीय तहका प्रमुखहरूको सम्मानका लागि आयोजित समारोहमा जनप्रतिनिधिलाई राम्रो काम गर्न निर्देशन दिए ।
‘यस्ता कार्याक्रमले एकजुट बनाउन सहयोग गर्छ,’ उनले भने, ‘स्थानीय तह, जिल्ला तथा प्रदेश सबैसँग सल्लाह गरेर पार्टी अघि बढ्छ राम्रो काम गर्नू ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology