काठमाडौँ । संविधान दिवसको अवसरमा आयोजना हुन लागेको नेशनल डे कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।
नागरिक स्तरबाट असोज ३ गते नारायणहिटी दरबार अगाडि हुन लागेको कन्सर्टमा सुरक्षा थ्रेट महसुस गरिएको भन्दै प्रधानमन्त्री ओलीलाई त्यहाँ नजान सुरक्षा निकायले सुझाव दिएपछि उनी कार्यक्रममा सहभागी नहुने भएका हुन् ।
प्रधानमन्त्री ओलीको काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग टकरावको सम्बन्ध छ। बालेनले लगातार प्रधानमन्त्री ओलीविरुद्ध सामाजिक सञ्जालबाट प्रहार गरिरहेका छन् भने उनका समर्थकले अनफलो अभियान नै चलाइरहेका छन्।
खुला सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री उपस्थित हुँदा बालेनका समर्थकबाट सुरक्षामा असर पर्ने भन्दै चारवटै सुरक्षा निकायले उनलाई नजान भनेका थिए । पहिले माओवादीका ‘उदण्ड’ कार्यकर्तालाई तह लगाएको स्मरण गर्दै ओलीले जाने इच्छा जनाएका थिए । तर, अहिले उक्त कार्यक्रममा उनको सहभागिता नहुने भएको हो ।
मंगलबार इन्द्रजात्रामा प्रधानमन्त्री ओली उपस्थित हुने कार्यक्रममा बालेनका समर्थकलाई नियन्त्रणमा लिइएको थियो। बालेनको नाम र फोटो अंकित टि–सर्ट लगाएर वसन्तपुर पुगेका बालेन समर्थकलाई प्रहरीले साइड लगाएपछि इन्द्रजात्राको औपचारिक कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका थिए। यसबाट पनि प्रधानमन्त्री ओलीले बालेन समर्थकबाट सुरक्षा थ्रेट महसुस गरेको बुझ्न सकिन्छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology