काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा पुस्तालाई जिम्मा दिएर आफू सक्रिय राजनीतिबाट विदा हुन चाहेको बताएका छन् ।
आफू छिटो भन्दा छिटो राजनीतिबाट विदा हुने चाहना भए पनि युवाहरु तयार नहुँदासम्म सुख पाउने सम्भावना नरहेको बताए । ‘छिटो भन्दा छिटो विदा भएर संस्मरण लेख्न मन छ’ शनिबार आयोजित वाईसीएलको राष्ट्रिय भेलामा उनले भने, ‘तर, तपाईहरु तयार नहुँदासम्म मैले सुख पाउने छाँट छैन ।’
युवाहरु तयार भएपछि आफू अलि भिन्न भूमिकामा जाने तयारीमा रहेको प्रचण्डले बताए । ‘अलि भिन्न भूमिकामा जाने इच्छा छ छिट्टै’ उनले भने, ‘छिट्टै भनेको भोलि नै होइन ।’
जनयुद्धको समयमा भन्दा युवाहरु स्खलित भएको भन्दै प्रचण्डले अहिलेका युवा पद र प्रतिष्ठाको पछि लागेको बताए । ‘हिजो युवाहरुमा अप्ठेरो कामको जिम्मा आफूले पाउन पाए हुन्थ्यो भन्ने थियो, अहिले मलाइ यो पदमा पठाइयोस् भन्ने प्रवृत्ति देखिएको छ’ उनले भने ।
माओवादीले २० प्रतिशत युवालाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको भन्दै प्रचण्डले बताए । उनले राष्ट्रिय राजनीतिमा अरु पार्टी भन्दा माओवादी अलग देखिनुपर्ने पनि बताए । ‘हामी पनि उस्तै भयौं भने अलग्गै किन हुनुप¥यो, त्यहीँ गएर बसे भइगो नि ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology