"आहा ! कति राम्रो । हेर त ती आँखीभौँ, ठ्याक्कै चन्द्रमा जस्तै । उज्यालो, गोलो मुहारमा कति सुहाएको ?" नजिकै किनमेल गरिरहेकी महिलातर्फ देखाउँदै उसले पत्नीसँग भन्यो।
"ह्या ! यो लोग्नेमान्छेको जात, केटीहरु त देख्नै नहुने के भा'को हो कुन्नि ?" आँखा तर्दै जवाफ फर्काइन् उनले ।
"छोराछोरी आफ्ना राम्रा, स्वास्नी अर्काका राम्रा भन्ने उखान त्यसै बनेको हो त ?" सुन्दर फूलको प्रशंसा त जसले पनि गर्छ नि । टिप्न पो नहुने हो त । तिमी पनि अलि चिटिक्क परेर हिँड भन्दा मान्दिनौ । "आँखीभौँ मिलाऊ, जमाना अनुसारको मेकअप र ड्रेस लगाउभन्दा सुन्ने हैन अनि अरुको सुन्दरताको तारिफ गर्दा रिसाउने ?" उसले अलि ठट्यौलो पारामा भन्यो ।
"जेसुकै होस् आफूलाई त्यस्तो नक्कल पार्नु छैन् । प्रकृतिले जे जस्तो दिएको छ ठिक छ । सधै यो शरिर स्वस्थ रहोस्, त्यही मेरो लागि सुन्दरता हो।"
"फेरि त्यस्तो शृङ्गारपटार गर्न लाग्यो भने त तिम्रो कमाइले खान पनि पुग्दैन, हेक्का छ कि छैन् ?" उनले पनि जस्तालाई त्यस्तै जवाफ फर्काइन्।
बजार छेउँको मैदानमा तीजको नाचगान चलिरहेको थियो । केही समय नाचगान हेरेर साँझ घर फर्किए उनिहरु ।
"त्यत्रो जात्रामा यसो ठम्याएर हेरेको त मान्छे हुन् कि डमी हुन् खुट्याउनै मुस्किल । अनुहार भरि भद्धा लिपपोत गरेका । कसैको आँखा टेढो, कसैका दाँत नमिलेका, कोही जलगैँडा जस्ता, कोही च्यूरी चुसे झैँ चुसारिएका ।"
"खासमा त मेरै बुढी पो राम्री रै'छ कि क्या हो ?" उसले मुस्कुराउँदै उनलाई प्याट्ट पार्यो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology