राजेश पराजुली, पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ विरोधमा उत्रिएका सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको थियो । सो क्रममा प्रहरीले लाठी चार्ज, अश्रुग्यास प्रहार गरेको थियो ।
प्रदर्शनका क्रममा नालायक सरकार मूर्दावाद, भ्रष्ट सरकार चाँहिदैन जस्ता सरकार विरोध नारा घन्काइएका छन् ।
रास्वपाले सभापति लामिछाने पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै आएको छ । रविलाई पक्राउ गरेर कास्की ल्याएसँगै रास्वपाले देशभरका कार्यकर्ता पोखरा उतारेर आन्दोलन गरेको थियो ।
केही अघि एक साता पोखरामा प्रदर्शन गरेका रास्वपाले आन्दोलन तुहिँदै जान थालेपछि काठमाडौँ केन्द्रित आन्दोलन शुरु गरेको थियो । सो पार्टीले तिहार पर्वलाई मध्यनजर गर्दै आन्दोलन रोकेको थियो ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालत लगिएको छ ।
कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण रविलाई आजमात्र अदालत लगिएको हो ।
रविसँगै पूर्वडीआइजी छविलाल जोशी, लीला पछाइ र व्यवसायी रामबहादुर खनाललाई पनि म्याद थपका लागि कास्की जिल्ला अदालत पुर्याइएको छ । उनीहरुलाई म्याद थपबारे अहिले बहस भइरहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology