काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी गर्न कांग्रेस एमालेले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई जिम्मेवारी दिएको छ।
मंगलबार बसेको दुई दलको सरकार सञ्चालन संयन्त्रले आउँदो मंसिर १७ देखि २१ गतेसम्म हुने ओलीको चीन भ्रमणका लागि तयारी अघि बढाउन राणालाई जिम्मेवारी दिएको हो।
कांग्रेस पार्टी कार्यालयका सचिव केशवराज जोशीका अनुसार राणाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशन सुझाव अनुसार भ्रमणको तयारी गर्ने छिन्।
सचिव जोशीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ प्रधानमन्त्री लि छियाङको निमन्त्रणामा आगामी डिसेम्बरमा हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मित्र राष्ट्र चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले गर्ने । दुई नेताको निर्देशन अनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजिकरण गर्ने ।’
गत असार अन्तिम साता प्रधानमन्त्री भएपछि ओलीको पहिलो विदेश भ्रमण चीनबाट सुरु हुन लागेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology