देवदह । देवदह नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आर्थिक वर्ष २०८१/०८२ को प्रथम चौमासिकमा नगरपालिकाले सम्पन्न गरेका योजना र सेवा प्रवाहबारे सार्वजनिक सुनुवाई गरिएको नगर प्रवक्ता गणेश डुम्रेले जानकारी दिए ।
सार्वजनिक सुनुवाईमा नगरवासीले सुकुम्बासी जग्गाको राजश्व, पुर्वपश्चिम लोकमार्ग समयमै निर्माण नहुँदा नागरिकले खेप्नुपरेका सास्ती, अव्यवस्थित जग्गामा बनेका घरको अभिलेखीकरणमा लिइने कर, नगरका भित्री सडकमा गुणस्तरहिन काम हुँदा निर्माण भएको केही समयमै सडक भत्किने समस्या लगायतका विषयमा सुझाब सहित गुनासो गरे ।
नगरवासीको प्रश्नको जवाफ दिंदै नगर प्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङले नागरिकमैत्री भएर नै नगरपालिकाले कार्यसम्पादन गरिरहेको बताए । राजमार्ग निर्माण र अव्यवस्थित जग्गाको समस्या समाधानको लागि प्रधानमन्त्री तहसम्म पहल भैरहेकोले समस्या हल हुनेमा आशावादी हुन उनीहरुले आग्रह गरे । घरको अभिलेखीकरणले नगरवासीलाई सुरक्षा प्रदान गर्ने भएकोले नगरपालिकाले यस्तो निर्णय लिएको नगरपालिकाको दावी छ ।
नगरपालिकाको सेवा प्रवाहबारे बोल्दै प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगरपालिकाबाट प्रदान गरिने सेवाको गुणस्तरमा वृद्धि हुँदै गएको बताए । वडा मै योजना सम्झौता गरिएको र आवश्यकता अनुसार भुक्तानी पनि योजनाबाटै हुने व्यवस्था मिलाउने प्रयास भैरहेको उल्लेख गर्दै उनले सेवाग्राहीलाई एकैपटकमा सेवा दिएर पठाउन र पटकपटक नगरपालिका धाउन बाध्य नपार्न कर्मचारीलाई निर्देशन दिए ।
देवदह प्रेस क्लबको सहजीकरणमा भएको कार्यक्रममा क्लबका अध्यक्ष विष्णु पोखरेलले सार्वजनिक सुनुवाईको आचारसंहिता र त्यसको महत्वबारे चर्चा गरेका थिए भने प्रेस क्लबका सल्लाहकार त्रिलोचन दहालले कार्यक्रमको सहजीकरण गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology