काठमाडौँ । प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा सामाजिक सञ्जाललाई कारबाही गरेको छ ।
काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले आज विज्ञप्ति जारी गर्दै दर्ता र सूचीकरणबिना चलेका, मिडियासँग आबद्ध नभएका तीन सञ्जाललाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको जनाएका छन् । मिडियाअन्तर्गत आबद्ध भएका एक फेसबुक पेजसहित अन्य च्यानललाई अप्रमाणित र एकपक्षीय सामाग्री तत्काल हटाउन वा स्थगन गर्न निर्देशन दिइएको बिज्ञप्तिमा जनाइएको छ ।
काउन्सिलले पछिल्लो समय कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामाग्रीको अनुगमन गरिरहेको जनाएको छ।
‘यही क्रममा केही सामाजिक सञ्जालबाट हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, एकपक्षीय आरोपसहित गालीगलौज, अफवाहपूर्ण र अतिरञ्जित सामग्रीलाई प्राथमिकताका साथ स्थान दिइ प्रसारण भएकाप्रति काउन्सिलको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ,’त्यस किसिमका सामग्री सम्पे्रेषण हुनु प्रचलित कानुन एवं पत्रकार आचारसंहिता विपरितका कार्य हुन् । त्यस्ता गलत, निराधार, अफवाहपूर्ण, भ्रमपूर्ण, अतिरञ्जित शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, अमर्यादित सामग्री सम्प्रेषण भइ आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।’
यसैगरी काउन्सिलले पत्रकारिताका मूल्यमान्यता विपरीत गलत, समाजमा उत्तेजना फैलाउने, हिंसा, एवं द्वन्द्वलाई प्रश्रय दिने, प्रायोजित एवं पक्षपोषणयुक्त घृणा तथा द्वेष फैलाउने सामग्री नगर्न नगराउन सबैलाई आग्रहसमेत गरेको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology