सहबान अन्सारी, नवलपरासी । नवलपरासीमा अवैध भन्सार छली चोरी पैठारीमा संलग्न २ वटा मोटरसाईकल र एक अटो रिक्सा सहित अंन्दाजी ८ लाख ९ हजार ३ सय ५० मुल्य बराबरको अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमवार पाल्हिनन्दन गाउँपालिका वडा नं. २ भक्सीपुर स्थित भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ४१ हजार ८ सय ५० मुल्य बराबरको भेष्ट, हाप पाईन्ट, कट्टु, सर्ट लगायतका बिभिन्न कपडा सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
यसैगरी सुस्ता गाउँपालिका वडा नं. १ बरुवा स्थितबाट तस्करीमा संलग्न एक अटो रिक्सा र चालक सहित अन्दाजी ५ लाख ८३ हजार ५ सय मुल्य बराबरको पोलो कम्पनीको टिसर्ट ४८१ पिस, २१ मिटर थान कपडाहरु गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उक्त कपडा भारतबाट भन्सार छली अवैध रुपमा अटो रिक्सामा राखि नेपाल तर्फ ल्याउदै गरेका थिए ।
त्यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा नं. ४ लोहरौलीमा भारतबाट नेपाल तर्फ युपी ५६ आर १७४२ र युपी ५७ एजे ४५३१ नम्बरका २ वटा भारतिय मोटरसाईकलमा राखी अबैधरुपमा ल्याउदै गरेको १ लाख १४ हजार मुल्य बराबरको ७ थान १२ भोल्टको ब्याट्री सहित उल्लेखित २ वटै मोटरसाईकल प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । उक्त सामान मोटर साईकलमा ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान र मोटरसाईकल फाली मानिस भागेका थिए ।
नियन्त्रणमा लिएको २ वटा मोटरसाईकल, एक अटोरिक्सा, अटोरिक्सा चालक र सम्पुर्ण मालसामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology