नेपालगन्ज - बाँकेको कोहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।
बसमा सवार सबै यात्रु घाइते भएका छन् । ३९ जना यात्रुसहित सुर्खेतबाट काठमाडौंका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस पूर्वबाट पश्चिम आउँदै गरेको टिपरसँग शुक्रबार बेलुका ७ बजेतिर ठक्कर खाँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैको उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्याइएको बाँकेका डिएसपी सुवास खड्काले बताए । ‘अस्पतालमा बिमारीको चापले घाइतेहरुको उपचारको व्यवस्थापन गरिरहेका छौं’ डिएसपी खड्काले भने, ‘मृतक तथा घाइतेको पहिचान अझै खुल्न सकेको छैन ।’ मृतकहरु सबै बसका यात्रु हुन् ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकाहरुको उद्धारका लागि दुईवटा क्रेन र तीनवटा स्काभेटर प्रयोग गर्नुपरेको थियो । उद्धारका लागि उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology