बारा । गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउन सरकारले पहल गर्ने बताएका छन्।
बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाअर्चना गर्दै गृहमन्त्री लेखकले विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुर्याएको उल्लेख गरे । उनले गढीमाई मन्दिरको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए।
गढीमाई मेलालाई व्यवस्थित बनाउन सुरक्षाको दृष्टिकोणले कुनै कसर बाँकी नराख्ने र यसका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनले बताए।
गृहमन्त्री लेखकले मेलामा दर्शनार्थीको चाप बढी भएमा आवश्यक परेको अवस्थामा थप सुरक्षाकर्मी खटाउन जिल्लास्थित सुरक्षानिकायलाई निर्देशन दिए ।
उनले आजै बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूसँग यसबारे छलफल गर्नुका साथै गढीमाई मेलामा आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।
मेलामा आउने भक्तजनको सुरक्षामा कुनै कमी नहोस् भन्दै गृहमन्त्री लेखकले सुरक्षा निगरानीका लागि सिसिटिभी क्यामरालगायत उपकरणको प्रयोगमा ध्यान दिन आग्रह गरे। सो अवसरमा मेलामा आउने सर्वधारणलाई सहजरूपमा दर्शन गर्ने वतावरण मिलाउन आयोजक समितिका पदाधिकारीलाई उनले आग्रह गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology