रुपन्देही । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी वली खत्रीले अपहरण तथा शरीर बन्धकसम्बन्धि किटानी जाहेरि दर्ता गरेकि छन । साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धि कानुनअनुसार कारबाहीको माग गर्दै खत्रीले सोमबार किटानी जाहेरी दिएकी हुन् ।
उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेकी छिन्।
रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले वलीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि गरे। 'हामीकहाँ आउनुभएको थियो, हामीले यसलाई दाङमै दर्ता गरेर अघि बढाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिएका हौं-उनले भने।
वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको र उनले घटनाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिवद्धता सहितको पत्र दिएका छन्।
'हामीले प्रदेश प्रहरी कार्यालय दाङसँग परामर्श गरी इलाका प्रहरी कार्यालय बुटवलमा दर्ता गर्न गएका थियौं, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भने-उहाँले घटनाको शुरुवात भएकै स्थानमा दर्ता गरिदिन्छौं भन्ने प्रतिवद्धतासहितको पत्र हामीलाई दिनुभएको छ।'
दाङ प्रहरीले भने जाहेरी आफुकहाँ आइनपुगेको बताएको छ। दाङ प्रहरी प्रवक्ता सुरेश काफ्लेले दाङमा उजुरी आइनपुगेको बताए। वलीले दिएको उजुरी अनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ ले व्यवस्था गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology