रिया बस्नेत, बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले एक हप्ता भित्र प्रदेश मन्त्रीपरिषदले पूर्णता पाउने बताएका छन । प्रदेश सभाकाे बिराेधकाे बिषयमा बिपक्षी दलसँग निरन्तर संवाद भैरहेको र केहि समय ढिला भए पनि सहमतिबाट नै प्रदेश सभाको बैठक सुचारू हुने उनले बताए ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय खोल्ने र कार्यालयका लागि आवश्यक पूर्वाधार तयार गर्न पर्यटन तथा शहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको प्रवक्ता खड्काले बताए । 
असोज ३ गते संविधान दिवसका अवसकाे अबसरमा प्रदेश पदक सिफारिश समितिले गरेको सिफारिस अनुसार ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषित गर्ने निर्णय गरेको छ । पदक फागुन ३ मा प्रदेश स्थापना दिवसमा प्रदान गरिनेछ।
बैठकले साविक मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सट्टा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका नाममा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।
लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा शुक्रवार आयाेजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता खड्काले मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा घर्तिगाउँ रोल्पा निवासी रमेश बहादुर वली क्षेत्रीलाई नियुक्त गरेको बताए ।
यसैगरि बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ दोस्रो संशोधन स्वीकृत गरेको छ । प्रदेश सरकारले बुटवल उपमहानगरपालिकाको वडाहरुलाई छुट्याउने प्रस्तावलाई समेत संघीय सरकारलाई पठाउने निर्णय गरेको छ ।
त्यसैगरी झिमरुक गाउँपालिकाको गाउँसभाबाट प्राप्त प्रस्ताव अनुसार गाउपालिकाको केन्द्रको नाम भ्यागुतेको सट्टा मच्छी कायम गर्न, त्रिवेणी गाउँपालिकाको वडाहरुलाई थपघट/संमायोजन गर्ने, रोल्पा नगरपालिकाको वडाहरुलाई थपघट/संमायोजन गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology