देवदह । आठौँ संस्करणको ‘डिगो बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८३’ को उत्कृष्ट २५ कथाकारको सूचीमा देवदहका निर्मल ढुङ्गाना छनोट भएका छन् ।
बाह्रखरी मिडियाले आयोजना गरेको प्रतियोगितामा देश तथा विदेशबाट प्राप्त १ हजार २२९ कथामध्येबाट ढुङ्गानाको कथा उत्कृष्ट २५ मा परेको हो । आन्तरिक मूल्याङ्कनबाट छनोट भएका ५० कथामध्ये मूल निर्णायक समूहले अन्तिम २५ कथा छनोट गरेको थियो ।
प्रतियोगिताको मूल निर्णायक समूहमा अग्रज कथाकार भुवन ढुङ्गाना संयोजक तथा समालोचक एवं साहित्यकार डा. ज्ञानु अधिकारी र लेखक एवं चलचित्रकर्मी खगेन्द्र लामिछाने सदस्य थिए ।
उत्कृष्ट २५ मा निर्मल ढुङ्गानासहित अनिता कोइराला, अपेक्षा कार्की, आशीष श्रेष्ठ, कान्ति न्यौपाने, कुशल गौतम, गरिमा आचार्य, चेतनाथ आचार्य, चेबन शर्मा, दीपेन्द्र विष्ट, प्रकाश राई, प्रवीण याम्फु, बद्री अधिकारी, मधुर भट्टराई, ममता राई, मसान उपासक, युवराज भट्टराई, रजनी ढुंगाना, राकेशकुमार वर्णवाल, राजेन्द्र तारकिणी, श्रेयज सुवेदी, सपना अधिकारी, सरस्वती सरस, सुधन सुवेदी र डा. सुरेन्द्र गैरे छनोट भएका छन् ।
उत्कृष्ट २५ मध्येबाट प्रथम, द्वितीय र तृतीय हुने कथाकारको घोषणा मंसिर ६ गते काठमाडौंमा आयोजना हुने विशेष समारोहमा गरिने आयोजकले जनाएको छ । सोही अवसरमा छनोट भएका २५ कथाको सङ्ग्रह ‘उत्कृष्ट कथा २०८३’ विमोचन गरिनेछ । उक्त सङ्ग्रह फाइनप्रिन्टले प्रकाशन गर्नेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने कथाकारले क्रमशः दुई लाख, एक लाख र ६० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट २५ मा परेका बाँकी २२ कथाकारलाई जनही सात हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ ।
गत भदौ ४ गते कथा आह्वान गरिएको प्रतियोगिताको टाइटल स्पोन्सर डिगो रहेको छ । सांस्कृतिक अभियानमा सूर्य नेपाल गाथाले साथ दिएको प्रतियोगितालाई एनआईएमबी बैंक, नासा सेक्युरिटीज, सिटी एक्सप्रेस मनी ट्रान्सफर, युनाइटेड अजोड इन्स्योरेन्स, यति एयरलाइन्स, वेदालय र करुणा फाउन्डेसन नेपालले सहयोग गरेका छन् ।
ढुङ्गाना देवदह-५ स्थित केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । ढुङ्गानाका गजल संग्रह 'दिन हराएको दिन (२०६१)', 'नओइलिने फूलहरू (२०६५)' काठा संग्रह 'बतासा (२०७३)' तथा प्राचीन कोलिय राज्यको इतिहासमा आधारित खोजमूलक कृति 'बुद्धको मामाघर (२०८३)' समेत प्रकाशित छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology