भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसी केहि दिन अघि दिवंगत भएका श्रमजीवी पत्रकार बिन्दु कुमार चौहानको घरमा पुगेर परिवारका सदस्यसंग भेटघाट गरेका छन् । भेटघाटको क्रममा मुख्यमन्त्री केसीले पत्रकार चौहानका छोराछोरीको व्यवस्थापनमा सहयोग गर्ने बताएका छन् ।
शनिबार परिवारलाई समवेदना दिन लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नम्बर ११ मोगलहा चोक चौहान परिवारको निवासमा पुगेका केसीले दयनीय आर्थिक अवस्था देखेपछि उनका छोराछोरीलाई व्यवस्थापन गर्ने बताएका हुन् ।
चार छोरा, तीन छोरी र श्रीमतीका अभिभावक चौहानको भदौ २९ गते उपचारको क्रममा निधन भएपछि उनको परिवार अभिभावकबिहिन भएको थियो ।
२०५५ सालबाट पत्रकारिता सुरू गरेका चौहान नेपालका विभिन्न मिडियामा निरन्तर श्रमजीवी पत्रकार हुन् । जनयुद्धकालमा सुरक्षाकर्मीबाट समेत यातना झेलेका चौहानको निमोनियाबाट भएको थियो ।
निमोनियाका कारण स्वास्थ्यमा जटिल समस्या आएपछि सरकारी अस्पताल खोज्दै तौलिहवा अस्पताल हुदैं प्रादेशिक अस्पताल बुटवल पुर्याइएको थियो । प्रादेशिक अस्पताल बुटवलमा उनको स्वास्थ्य अवस्था गम्भीर भएको थाहा पाएपछि नेपाल पत्रकार महासंघ रुपन्देही शाखा, लुम्बिनी प्रेस क्लब र प्रेस संगठन नेपालको पहलमा सुविधा सम्पन्न अस्पताल युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल रानीगाउँ भैरहवामा उपचारका लागि लगिएको थियो ।
तर उनको स्वास्थ्य अवस्था निकै जटिल भएका कारण अस्पताल भर्नाको दुई दिनपछि २९ भदौमा मृत्यु भएको थियो । आर्थिक अभावका कारण सुबिधा सम्पन्न निजि अस्पतालमा उपचार गर्नको लागि लैजान नसकेको परिवारले सरकारी अस्पताल खोज्दा खोज्दै समयमा उचित उपचार नपाएर पत्रकार चौहानको निधन भएको हो ।
आफ्नो जीवनभर निस्वार्थ, निशुल्क सेवामा लागिरहने चौहान आफ्नो व्यक्तिगत रुपमा भने आर्थिक उन्नति गर्न सकेका थिएनन् । माओवादी नेता पम्पा भुसाल संग समेत काम गरेका चौहानलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत नजिकबाट चिन्दछन् ।
४९ वर्षीय चौहानको निधनसंगै उनको परिवारले आर्थिक झमेला व्यहोरिरहेको छ । सबैसंग मिल्ने अतिमिलनसार सहयोगी भावनाका शालीन स्वभावका पत्रकार चौहानको मृत्युसंगै विभिन्न संघसंस्थाले विज्ञप्ति जारी गर्दै उनको मृतआत्मा प्रति श्रद्धान्जली दिएका छन् ।
घरमा एक अपाङ्ग अशक्त छोरी समेत रहेका चौहानका छोराछोरीको व्यवस्थापन मुख्यमन्त्रीले गर्ने आश्वासन दिएपछि स्थानीय जनसमुदायमा लुम्बिनी प्रदेश सरकार प्रति ठुलो आशा र भरोसा देखिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology