देवदह । रुपन्देहीको देवदहमा शुक्रवारबाट वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । संगम युवा क्लबको आयोजनामा देवदह–३ सेमरहनामा तेस्रो संगम कप भलिबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै देवदह नगरपालिका वडा नम्बर ३ का अध्यक्ष यज्ञ प्रसाद अर्यालले खेलकुदको क्षेत्रलाई वडाले विशेष प्राथमिकता दिएर काम गरेको बताए । ‘खेलले स्वास्थ्य सङ्गै अनुशासन कायम गर्न समेत सघाउ पु¥याउँछ ।’ अध्यक्ष अर्यालले भने, ‘प्रतियोगिताका कारण खेलाडी उत्पादन सँगै उनिहरुमा भएको प्रतिभा प्रस्फुटन गर्नलाई सहयोग पुग्दछ ।’
प्रतियोगिता अन्तर्गत शुुक्रवार सम्पन्न उद्घाटन खेलमा आयोजक संगम युवा क्लब विजयी भएको छ । संगमले देवदह–५ लाई २५÷२३ र २५÷१९ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको खेल संयोजक मिलन थापाले जानकारी दिए ।
२५ टिम सहभागी प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार पाँच सय ५५ रुपैँया, द्वितीय हुने टिमले नगद ४४ हजार चार सय ४४ र तृतीय हुने टिमले नगद २२ हजार २ सय २२ रुपेंया सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक थापाले बताए ।
कार्यक्रममा पूर्व अध्यक्ष, प्रचारप्रसार संयोजक घनश्याम भण्डारी, समाजसेवी कृष्ण प्रसाद ज्ञवाली, वेद बहादुर थापा लगायतले शुभकामना व्यक्त गर्दै युवाहरुलाई खेलप्रति आकर्षित गर्नुपर्नेमा जोड दिएका थिए ।
क्लबका अध्यक्ष कवि ज्ञवालीको अध्यक्षता, सह–आयोजक चाहाना आमा समूहका अध्यक्ष कुमारी कामुको स्वागत र सचिव प्रितम थापाको सञ्चालनमा कार्यक्रम भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology