बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवन भर्चुअल रुपमा उद्घाटन गरेका छन् । स्वास्थ्यमा समस्या आएर त्यहाँ जान नसकेपछि अोलीले बालुवाटारस्थित सरकारी निवासबाटै शुक्रवार सम्बोधनसहित भवनको उद्घाटन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रमस्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको जनाए ।
प्रधानमन्त्री ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो संग सेवा प्रवाह गरि नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गरे । उनले पाल्पा एक ऐतिहासिक, रमणीय र देश जोगाउन भूमिका खेल्ने जिल्ला भएकाले यस प्रकारको छविलाई जनताले कायमै राख्ने विश्वास व्यक्त गरे । आफूहरुले सुरु गरेका सिद्धबाबा सुरुङलगायत विकास निर्माणका काम आफूहरुकै पालामा सम्पन्न गर्ने गरी काम भइरहेको पनि उनले सो अवसरमा बताए ।
प्रधानमन्त्री ओलीले खनिज तत्वको प्रयोगमा पाल्पा अगाडि रहेको र कृषिमा उद्यमशीलता एवं समग्र विकासमा यो जिल्ला थप अग्रसर हुने अपेक्षा व्यक्त गरे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology