काठमाडौं । पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाएर भाइरल भइरहेकी आशिका तामाङ धरौटीमा छुटेलगत्तै पक्राउ परेकी छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सोमबार १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै आशिकालाई भक्तपुर प्रहरीले पक्राउ गरेर लगेको हो ।
गत माघ २ मा अभद्र व्यवहार मुद्दामा स्वयम्भूबाट पक्राउ परेकी उनलाई गौशाला प्रहरी बृत्तमा राखेर मुद्दा अघि बढाइएको थियो । उक्त मुद्दामा काठमाडौंका प्रजिअ तिवारीले धरौटीमा छाडे पनि भक्तपुरमा अर्को मुद्दा चलाउन पक्राउ गरिएको हो ।
आशिकाले काठमाडौंमा धरौटी बुझाएपछि भक्तपुर पठाइएको हो । आशिका पुस अन्तिममा पशुपति क्षेत्र विकास कोषका करार कर्मचारीबारे गौशाला बृत्तका डीएसपी शुकदेव खनालसहितका प्रहरीसँग भनाभनमा उत्रिउकी थिइन् ।
पशुपतिनाथ मन्दिर परिसरमा तैनाथ प्रहरी अधिकारीहरूमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरिएको थियो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार मुद्दाको शिलशिलामा जारी गरिएको पक्राउ पुर्जीका आधारमा प्रहरीले आशिकालाई पक्राउ गरेर मुद्दा चलाएको थियो ।
आशिकालाई मुलुकी फौजदारी संहिताअनुसार पक्राउ गरेर कारबाही अघि बढाइएको थियो । कार्यालयमा पुगेको प्रहरीसँग पनि आशिका र उनका सहयोगीले गलफत्ती गरेका थिए । उनीहरूले सक्कलै पक्राउ पुर्जी लिएर आउन प्रहरीलाई दबाब दिएका थिए ।
आशिकाले पशुपति परिसरमा ड्युटीमा रहेका प्रहरीलाई मुख छाड्दै गालीगलौज गरेपछि कारबाहीको दबाब परेको थियो । अब उनलाई भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा नै चलाउन लागिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology