बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दाङ आउँदैछन्। लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गर्न ओली आज दाङ आउन लागेका हुन्।
बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले विशेष सम्वोधन गर्नेगरी बैठक बस्ने कार्यसूची प्रकाशन गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्वोधनका लागि निमन्त्रणा गरेका थिए ।
लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको हाे । यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्वोधन गरेका थिए।
प्रधानमन्त्री ओलीले सुरुमा प्रदेशसभाको बैठकलाई विशेष सम्वोधन गर्ने र त्यसपछि घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology