विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफु नेतृत्वको नेकपा माओवादी केन्द्र दायाँबाट बायाँतर्फ सिफ्ट गरेको बताएका छन् । मंगलवार अखिल क्रान्तिकारी कोसी प्रदेशको प्रथम बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले केही समयदेखि देखिएको अन्योल र अलमल चिर्दै पार्टी ठिक ठाउँमा आएको बताए ।
गत केन्द्रीय समिति बैठकले पार्टीलाई दायाँबाट बायाँतर्फ सिफ्ट गरेको उल्लेख गर्दै उनले स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने निर्णय गरिएको जानकारी दिए । यसले पार्टीलाई आफ्नै वर्ग र समुदायतिर फर्काएको उल्लेख गर्दै उनले समुदायसँगै बसेर संघर्ष गर्ने र समुदायसँगै बसेर समाजवादको अभ्यास गर्ने नीति लिइएको बताए ।
पार्टीकै निर्णयअनुसार जनतासँग माओवादी तराई मधेस जागरण थालिएको र यसले माओवादी जनतामा फर्कियो भन्ने सन्देश दिएको उनले बताए ।
अभियानको क्रममा आर्थिक समृद्धिका संभावनाको खोजी गर्ने, नागरिक समाज र बुद्धिजीवीसँग छलफल गर्ने, सहिद र बेपत्ता परिवारसँग छलफल गर्ने, जनताको घरमा बसेर विविध समस्याको जानकारी लिने गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अभियान निकै प्रभावकारी बन्दै गरेको दावी गरे । "हिजोदेखि सामन्ती राज्यले विभेदमा राखेको र आफूहरुले जनयुद्धमार्फत उनीहरुका मुद्दा उठाएको, त्यहीअनुरूप अधिकार संविधानमा राखिएको तर कार्यान्वयनमा समस्या देखिएकाले त्यसलाई समेत सम्बोधन गर्न हुलाकी मार्ग केन्द्रित अभियान थालिएको हो" उनले भने ।
"आगामी वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सन्चालन गरिनेछ ।" प्रचण्डले भने, "देशकै होचो स्थानबाट थालिएको जनतासँग माओवादी अभियान देशकै उचो ठाउँमा लगेर समापन गरिनेछ । अभियान स्वरुप र सन्देश दुबै हिसाबले मौलिक हुने उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology