देवदह । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले तथ्यमा टेकेर आगामी निर्वाचन (मिसन-८४) को तयारी गरिरहेको बताएका छन् । बुधवार देवदहमा आयोजित सर्वाङ्गिण संवाद कार्यक्रममा बोल्दै सहमहामन्त्री आचार्यले २०८४ मा हुने निर्वाचनको तयारीमा पार्टी जुटेको बताए ।
"३५ हजार बढी जनप्रतिनिधिलाई राज्यको विभिन्न तहको नेतृत्वमा पुर्याउने निर्वाचनको तयारीमा रास्वपा छ ।" उनले भने, "नागरिकमा रहेको आशा निराशामा नबदलियोस् भन्नेमा हामी सजग छौं ।"
संविधान संशोधन र रास्वपाको आगामी कार्यक्रमबारे सोधिएको प्रश्नमा आचार्यले अहिलेको व्यवस्था शिशु अवस्थामा रहेकोले भर्खरै यसले काम गर्न सकेन भन्न नसकिने बताए । "भर्खर जन्मेको बच्चा किन दौडिएन भनेर आलोचना गर्नु सहि हुँदैन ।" उनले भने, "यही व्यवस्थामा टेकेर परिवर्तन गर्नुपर्ने छ । यसमा हामी अध्ययन गरिरहेका छौं ।"
संविधानमा केके विषय संशोधन गर्ने भन्ने विषयमा पार्टीले कार्यदल नै बनाएर अध्ययन गरिएको उनको भनाइ छ ।
सर्वाङ्गिण संवाद कार्यक्रममा पार्टीका जिल्ला सचिव विष्णुप्रसाद पौडेलले छलफलको निचोड सुनाएका थिए । कार्यक्रममा पार्टीका केन्द्रिय कोषाध्यक्ष लिमा अधिकारी, रास्वपा नेताहरु क्रान्तिशिखा धिताल, गोपाल घिमिरे, महेन्द्र उपाध्याय, प्रेम बहादुर खत्री, विनोद खरेल, डा. बुद्धिप्रसाद शर्मा, आशिष न्यौपाने, मोहनविक्रम जिसी, नगर अध्यक्ष किरण भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कांग्रेस, एमाले, माओवादी लगायतका दलका स्थानीय कार्यकर्ताहरुको समेत सहभागीता रहेको थियो । उनीहरुले रास्वपालाई सुझाबसहित आफ्ना विचार राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology