देवदह । विभिन्न कार्यक्रममा सहभागी हुन रुपन्देही आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई रुपन्देहीमा भव्य स्वागत गरिएको छ । बिहिबार बिहान जिल्लाको ओमसतिया गाउँपालिका पुगेका उनलाई स्थानीयले ७१ किलोको मालाले स्वागत गरे ।
ओमसतिया गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष शिवकुमार धवलले पुर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वागतमा रुपन्देहीवासी उर्लिएको बताए । "अनपेक्षित रुपमा जनसागर ओर्लियो, उहाँको उमेर बराबरको ७१ किलोको मालासहित स्थानीयले स्वागत गरेको देखेर हामी पनि चकित भयौं ।" सेतोमसीसंग कुरा गर्दै उनले भने, "माओवादी नेतृत्वको सरकारले रुपन्देहीवासीको अपेक्षा अनुसार जसरी बजेट विनियोजन गर्यो, त्यसले नागरिकलाई माओवादीले अवसर पाए विकासको काम गर्छ र भ्रष्टाचार पनि नियन्त्रण गर्छ भन्ने लागेकोले सम्मान गरेका हुन् भन्ने लाग्छ ।"
यसैविच प्रचण्डले ओमसतिया गाउँपालिकाको वडा नं ६ मा अवस्थित जुमहानी पोखरा ताल पार्क निर्माण तथा सौन्दर्यकरणको शिलान्यास गरेका छन् । विहान ११:३० मा बजे ओमसतिया पुगेका प्रचण्डले पार्कको सिलान्यास गर्दै स्थानीयस्तरमा पर्यटन प्रवर्धन र स्थानीयको आर्थिक समृद्धिमा टेवा पुगोस् भनेर ऐतिहासिक ताल, तलैया र पार्कको विकासलाई महत्व दिइएको बताए ।
तत्कालिन अर्थमन्त्री बर्षमान पुनको कार्यकालमा १ करोड २७ लाख बजेट विनियोजन भएको पार्क निर्माण र सौन्दर्यकरणको लागि ८८ लाखको बोलपत्र आह्वान स्वीकृत भएको छ ।
पाँच बिगाहा क्षेत्रफलमा फैलिएको पार्क र त्यहाँ रहेको ताल ओमसतियाको पर्यटनको प्रमुख गन्तब्य बन्ने सम्भावना रहेको स्थानीयको भनाई छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology