काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बिहीवारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परिक्षा (एसईई)लाई व्यवस्थित, मर्यादित र शान्तीपूर्ण रुपमा सम्पन्न गर्न मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताएकी छन् ।
मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री भट्टराईले परिक्षा अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त बनाउन गृह मन्त्रालयसँग अनुरोध गरेको बताइन् ।
परिक्षा केन्द्रमा प्रहरी परिचालन गरेर विद्यार्थीहरुमा डर र त्रास पैदा गर्नुभन्दा व्यवस्थित रुपमा परिक्षा संचालन गर्न सामथ्र्यवान छौं भन्ने प्रमाणित गर्न प्रत्येक परिक्षा केन्द्रहरुलाई निर्देशन दिइएको उनले बताएकी छन् । उनले विद्यालय शिक्षा विधेयकमा एसईईलाई प्रदेश राख्नेगरी व्यवस्था गर्नुपर्ने धारणा समेत व्यक्त गरेकी छन् ।
‘अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) को सन्दर्भमा धेरै कुराहरु उठिरहेका छन् । अब एसईईलाई व्यवस्थित बनाएर जाउँ भन्ने सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्ड लगायतका सरोकारवालाहरुका बैठक लगातार बसिरहेका छन् । एसईई परीक्षाको सुरक्षाको लागि पनि परीक्षा बोर्डले गृह मन्त्रालयसँग अनुरोध गरेको छ । र मैले के भनेको छु भने सुरक्षा भनेर प्रहरी परिचालन गर्नुपर्ने आवश्यकता छैन ।' उनले भनिन्, 'हामीले विद्यार्थीले गर्न हुने र गर्न नहुने कुराको कोड अफ कन्डक्ट बनाएका छौं । त्यसलाई मर्यादित हिसाबले गर्नको लागि परीक्षास्थलमा खटिने सबैले मर्यादित हुँदा विद्यार्थीलाई अनुशासित हुनको लागि अप्ठेरो पर्दैन । त्यसैले बाहिर सुरक्षाकर्मी परिचालन गरेर विद्यार्थीहरुलाई डर त्रास देखाउनेभन्दा पनि हाम्रो परिक्षा व्यवस्थित गर्न हामी सामथ्र्यवान छौं भन्नको लागि हामीले सूचना प्रवाह गर्न जरुरी छ भन्ने हिसावले मैले कुराकानी गरिरहेकी छु ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology