साहित्य जीवन जगतको लेखाजोखा गर्ने तथा समाजमा देखिने बेथितिहरुलाई विभिन्न विधाबाट समाजसामु पस्कने माध्यम हो । साहित्यका विविध आयामहरुमध्ये कथा एक सशक्त विधा हो । त्यही विधामा पनि बालकथा र बाल साहित्यमा समर्पित स्रष्टा हुन् - दुर्गा पौड्याल ।
गुल्मी जिल्लाको दिगाममा आमा कुन्तादेवी र बुवा ऋषी ज्ञवालीको कोखबाट वि.सं. २००८ सालमा जन्मिएकी दुर्गालाई साहित्यको उर्वर भुमि गुल्मीले नै कलम चलाउन सिकाएको हो । सानैबाट सृजनशील उनी कक्षा ८ सम्मको शिक्षा पुरा गरेपछि रुपन्देही झरिन् । हाल तिलोत्तमा नगरपालिकाको शंकरनगरमा बस्ने उनले ९ कक्षा बुटवलको बुटवल मा.वि मा पढिन् भने कक्षा १० र आइ.ए सम्मको अध्ययन उनले भारतको बानरसबाट पुरा गरिन् । बुटवल बहुमुखी क्याम्पसबाट आई एड सम्मको अध्ययन पुरा गरेकी पौड्यालको साहित्य लेखनयात्रा २०४८ सालदेखि प्रारम्भ भयो ।
उनले एक्सरे साप्ताहिक, दैनिक लुम्बिनी, जनसंघर्ष, भावना, मेचिकाली दैनिक, तिलोत्तमा दैनिक, बुटवल टुडे, सैनामैना दैनिक, भक्तपुरबाट प्रकाशित म्याग्जीन, राष्ट्रियस्तरका पत्रपत्रिकाहरु र केही बुलेटिनहरुमा समेत स्वतन्त्र पत्रकारको रुपमा उनले कलम चलाइन् । रुपन्देहीको मणिग्राममा रहेको रेडियो लुम्बिनीको स्थापनाकालदेखिनै बाल कार्यक्रम र महिला सम्बन्धि कार्यक्रम सञ्चालनका साथै उनले समाचार सम्पादन अनि बाचनको काम समेत गरिन् ।
वि.सं. २०२८ सालदेखि २०५८ सालसम्म दैनिक जीवनका क्रममा मुख्य पेशाको रुपमा शिक्षण पेशा अंगालेकी पौड्यालले अहिले सेवानिवृत्त समय बिताइरहेकी छन् । शिक्षण सेवाबाट अवकाश लिएपछि लेखन यात्राले अझै धेरै समय पाएको उनी बताउँछिन् । जीवनसाथी मदन पौड्याल पनि पत्रकार/लेखक भएकाले उनलाई लेखकीमा सदैव साथ र हौसला मिल्यो । उनी भन्छिन्, ‘घरपरिवारबाट कहिल्यै पनि असहयोग भएन, उल्टै अगाडि बढ्नका लागि उर्जा र साहस मिल्यो । त्यो समयमा पत्रपत्रिकामा काम गर्दा होस् या शिक्षण पेशामा रहँदा महिला भएकै कारणले कहिल्यै कुनै पनि अफ्ठ्यारो महशुस गर्न परेन ।’ त्यो बेला पत्रकार÷लेखक महिलाहरु एकदमै कम भएकाले आफुले उल्टै मानसम्मान र प्रोत्साहन पाउने गरेको अनुभव उनीसँग छ । उनलाई स्मारिका र म्यागजिनमा विभिन्न विषयमा लेख रचनाहरु लेख्दिनुप¥यो भन्ने फोन धेरै आउने गर्थे ।
त्यसो त लेख्न र सिर्जना गर्नको लागि आफुमा जाँगर, रुचि र इच्छा पनि चाहिन्छ । ‘मेरो रुचिको विषय, त्यसमा पनि बालबालिकासँग नजिक रहेर उनीहरुको मनोबिज्ञान बुझ्ने अवसर पाउने भएपछि मैलो पनि बालकथा, कविता सुनाउने र उनीहरुका पनि सुन्नेगर्थे ।’ बालबालिकाहरुको रुचि थाहा पाएपछि आँफु बालसाहित्यतर्फ आकर्षित भएको पौड्यालले बताइन् । मनदेखी ग¥यो भने हरेक काम सरल र सहजताका साथ सम्पन्न गर्न सकिने उनको धारणा छ ।
पौड्यालका कथाका शब्दहरुमा सरलता अनुभव गर्न सकिन्छ । उनको पहिलो कृति ‘नियात्रा’ भित्र पस्दा शब्दहरु सलल बगेका अनि मिठासले भरिएको पाइन्छ । गुल्मीको बोहादेखि गोवासम्म, शंकरनगरदेखि नेपालगञ्ज अनि नेपालगञ्जदेखि भारतको चेरापुञ्जीसम्म आँफुले गरेको यात्रालाई जोडेर विषयवस्तुलाई निकै उत्कृष्ट ढङ्गले उक्त कृति पाठकसमक्ष पस्किइएको छ । ‘नियात्रा’ पढिरहदा पाठकलाई आफू पनि त्यहीँ पुगेको जस्तो भान हुन्छ । उनको कलमले पुस्तकमा शब्दमार्फत साहित्यलाई टपक्क टिपेर अन्तरवस्तुमा सजाएको छ ।
उनका शुरुवातका कथा/लेखहरु अरुदन्तीका नामले प्रकाशित हुँदैआएका थिए भने पछिल्ला लेख रचनहरु दुर्गा पौड्यालका नामले प्रकाशित छन् । नेपालका प्राय: स्थानहरुमा पुगेकी पौड्यालले भारतका विभिन्न स्थानहरुसँगै संयुक्त राज्य अमेरिकाको पनि भ्रमण गरेकी छन् ।

कामको शिलशिलामा नेपाल राष्ट्रिय शिक्षक संगठनको पूर्व कोषध्यक्ष एवम् आजीवन सदस्य, नेपाल पत्रकार महासंघ रुपन्देहीको पूर्व कार्यसमिती सदस्य र हाल साधारण सदस्य, उपत्यका बाहिरको पहिलोे एफ.एम रेडियो लुम्बिनीको संस्थापक सदस्य र पूर्व कार्यसमिती सदस्यका रुपमा समेत उनले काम गरिसकेकी छन् ।
नेपाली साहित्यको क्षेत्रमा योगदान पु¥याए बापत उनले बिभिन्न ठाउँबाट पुरस्कार र सम्मानहरु पनि प्राप्त गरेकी छन् । वि.सं. २०६४ सालमा दैनिक लुम्बिनीबाट महिला लेखकको रुपमा गरिएको सम्मान, पत्रकार महासंघ जिल्ला शाखा रुपन्देहीबाट वि.सं. २०७० मा गरिएको अग्रज पत्रकार सम्मान, २०७० सालमै कालिका उच्च मा.वि को स्वर्ण महोत्सवको अवसरमा गरिएको दीर्घ सेवा सम्मान, सोहि वर्ष नौलो नेपाली साहित्य संस्थाबाट सम्मानीत तथा विश्वनारी नेपाली साहित्य सम्मेलनको अवसरमा गरिएको ‘विश्वनारी नेपाली साहित्य पदक’ तथा सम्मान पत्र उनले प्राप्त गरेका सम्मानहरु हुन् ।
यसैगरि वि.सं. २०७१ साल जेष्ठ १६ गते त्रिमूर्ती निकेतन विश्वनारी सम्मेलनमा विश्व नारी नेपाली साहित्य पदक र सम्मान पत्रसँगै अनेसास रुपन्देही, सिद्धार्थ साहित्य परिषद सिद्धार्थनगर, लुम्बिनी बाङमय प्रतिष्ठान रुपन्देही, साहित्य तथा विज्ञान प्रतिष्ठान पाल्पा, बुटवल उद्योग वाण्ज्यि संघ, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लुम्बिनी, सिर्जनशिल साहित्य समाज सिद्धार्थनगर, प्रेस सेन्टर नेपाल रुपन्देही, सञ्चारिका समुह रुपन्देही, लुम्बिनी बचत तथा ऋण सहकारी संस्था, सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लगायत अन्य दर्जनौ संघ संस्थाले उनलाई विभिन्न अवसर पारेर सम्मान तथा पुरस्कार प्रदान गरेका छन् ।

राजधानी बाहिर बसेर नेपाली भाषा र साहित्यको श्रीवृद्धिको लागी योगदान पु¥याए बापत उनी पटकपटक विभुषित, सम्मानित र पुरस्कृतसमेत भएकी छन् । ‘नियात्रा’ पहिलो संस्करण २०६७, दोस्रो संस्करण २०७०, ‘काउव्ययको देशमा’ (अमेरिकाको यात्रा संस्मरण) २०७०, ‘भाले खै’ बालकथा संग्रह २०८१, ‘रसाएका आँखा’ २०७५, ‘महुरी’ बालकविता संग्रह २०८१ उनका प्रकाशित कृतिहरु हुन् । पौड्यालका अन्य कृतिहरु प्रकाशोन्मुख छन् ।
बाल कथा र कविता नै बढी लेख्नुको कारणबारे सोध्दा उनी भन्छिन्, ‘अहिलेका बालवालिका भोलिका असल, जिम्मेवार र नैतिकवान नागरिक बनुन भन्ने नै हो । मोबाइल चलाएर बस्न भन्दा कथा र कविता पढुन् र त्यसका माध्यमबाट बालवालिकाहरुमा पठन संस्कृतिको विकास गर्नु नै मुख्यगरि मेरा लेख रचनाहरुको उद्धेश्य हो ।’ कथा र कविताको माध्यमबाट पठन पाठन गराउँदा बालवालिकाहरुले राम्रोसंग बुझ्ने आफ्नो अनुभव रहेकाले पनि त्यसतर्फ बढि कलम चलेको उनी बताउँछिन् ।
समाजभित्र रहेका यस्ता हस्तीहरुलाई जोगाउँदै उनीहरुका मन मष्तिष्कबाट प्रष्फुटित् हुने रचना र कृतिहरु समाजका सम्पत्ति हुन् । जीवनको ७३ औं वसन्त पार गरिसकेकी दुर्गा पौड्याल र उनका सम्पूर्ण सिर्जनाहरु पनि समाज र राज्यका सम्पत्ति हुन् । समाजको यथार्थलाई ऐना जस्तै छर्लङ्ग पार्नसक्ने उनीजस्ता साहित्य सर्जकहरुलाई राज्यले समेत प्रोत्साहन र हौसला प्रदान गर्नुपर्छ । अबका बाँकी दिनहरुमा हात पाखुरा चल्ने बेलासम्म पनि आफ्नो कलम नरोकिने बताउने पौड्यालको कला र साहित्यको प्रेमलाई राज्यका आँखाले देखोस् । उनलाई दिर्घ जीवनको कामना ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology