Logo

२०८३, श्रावण ३१गते


images
images

शिक्षा

शिक्षामा छलाङ मार्यौं, तर सन्तोष छैन: पूर्व राष्ट्रपति यादव

शिक्षामा छलाङ मार्यौं, तर सन्तोष छैन: पूर्व राष्ट्रपति यादव

images
  • शिक्षामा छलाङ मार्यौं, तर सन्तोष छैन: पूर्व राष्ट्रपति यादव
    images
    images

    काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले नेपालले शिक्षाको क्षेत्रमा छलाङ मारे पनि सन्तोष गर्ने अवस्था नरहेको बताएका छन्। बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले शिक्षामा प्रगति भए पनि विद्यार्थीहरूलाई खुशीका साथ देशमै राख्न नसक्नु दुःखद पक्ष भएको बताए। 

    images
    images
    images

    उनले सरकारलाई युवाहरूलाई स्वदेशमै राख्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए। विदेश पलायनको दर दिनप्रतिदिन बढ्दै जानु देशको भविष्यका लागि खतरा भएको उनको भनाइ छ। उनले देशको समस्या बुझेर काम गर्नुपर्नेमा जोड दिँदै अध्ययनसहितको विकास हुन नसकेकोमा चिन्ता व्यक्त गरे।

    images
    images
    images

    उनले शिक्षा प्रणाली व्यवहारिक हुनुपर्ने भन्दै विद्यार्थीलाई मात्र डिग्रीधारी नागरिक बनाउनुको सट्टा दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताए। ‘हाम्रो शिक्षा प्रणालीले ज्ञान मात्र होइन, सीप पनि दिनुपर्छ। डिग्री मात्रै भएर पनि काम छैन, जबसम्म त्यसलाई व्यवहारमा उपयोग गर्न सकिँदैन,’ उनले भने। शिक्षाको गुणस्तर सुधार गर्नका लागि नीति निर्माण तहमा रहेका नेताहरू र सरकारी अधिकारीहरूले विशेष ध्यान दिनुपर्नेमा उनको जोड थियो।

    images
    images
    images

    उनले देशका प्राकृतिक स्रोत-साधनको उचित व्यवस्थापनमा सरकार चुकेको उल्लेख गरे। उनले भने, ‘हामीले शिक्षाको क्षेत्रमा छलाङ मारेका छौँ, तर सन्तोष छैन। किनभने हाम्रो देशमै विद्यार्थी टिकाइ राख्न सकिरहेका छैनौं। सभ्यताको इतिहास हेर्ने हो भने यस्तो समय आइरहन्छ। हाम्रो समयमा समाचार सबै ठाउँमा पुग्दैनथ्यो, तर अहिले सबैसँग स्मार्टफोन छ, सबैले विश्वको खबर बुझिरहेका छन्, तर आफ्नै देशको कुरा थाहा छैन। बी.ए. पास गरेका विद्यार्थीलाई आफ्नो देशको भूगोल, इतिहास वा राजनीतिक पृष्ठभूमिबारे दुई पृष्ठ लेख्न लगाए सक्दैनन्। यसको दोष राज्य चलाउने हामीमाथि जान्छ।’

    उनले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन आवश्यक रहेको भन्दै तराई मरुभूमिमा परिणत हुन सक्ने चेतावनी दिए। उनले चुरेको संरक्षणका लागि सरकारसँगै नागरिक तहबाटै सचेतना अभियान चलाउनुपर्ने बताए। ‘यदि हामीले समयमै कदम उठाएनौँ भने हाम्रो हरियाली तराई मरुभूमिमा बदलिन सक्छ, यसको असर सम्पूर्ण देशभरि पर्नेछ,’ उनले भने।

    शिक्षा, वातावरण संरक्षण, र समग्र राष्ट्रिय विकासलाई एकसाथ अघि बढाउनुपर्ने बताउँदै उनले राज्य संयन्त्रलाई प्रभावकारी बनाउनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए। ‘देशको स्रोत-साधनको सही उपयोग गरिए मात्र शिक्षित युवा देशमै बस्छन्। अवसर सिर्जना गर्न सकिएन भने उनीहरू विदेश जान्छन्, त्यसपछि हामीसँग केही बाँकी रहँदैन। यो गम्भीर विषय हो,’ उनले जोड दिए।

    राष्ट्रपति यादवले देशका समस्या बुझ्ने नागरिक उत्पादन गर्न आवश्यक रहेको बताए। नागरिक सचेत नभएसम्म विकासको आधार बलियो बन्न नसक्ने उनको भनाइ छ। ‘देश बनाउने भनेको सरकार मात्रै होइन, नागरिक पनि हो। जबसम्म हामी हाम्रा समस्याको जिम्मेवारी लिन सक्दैनौँ, तबसम्म समाधानको बाटो देखिन्न,’ उनले थपे।

    उनले सरकारलाई दिगो विकासका योजना ल्याउन आग्रह गर्दै शिक्षा, वातावरण, रोजगारी, र प्राकृतिक स्रोतहरूको उचित उपयोगका लागि दीर्घकालीन नीति आवश्यक रहेको औंल्याए।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा. रामवरण यादव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।