भैरहवा । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आईतवार भएका तीन खेलमा त्रिभुवन आर्मी , एपीएफ र सुदूरपश्चिम प्रदेशले जित हात पारेका छन् । रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ए सय ३१ रनको फराकिलो अन्तरले पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाएको छ । जितसँगै आर्मीले ८ खेलमध्ये ७ मा जित निकाल्दै १४ अंक जोडेको छ । आर्मी अब लिग चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको नेपाल पुलिस क्लबसँग खेल्नेछ । पुलिस ७ खेलमा नै अपराजित रहँदै १४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । लुम्बिनीको भने फाइनल पुग्ने सम्भावना सकिएको छ । लुम्बिनीको ८ खेलमध्ये ४ मा जित निकाल्दै ८ अंक छ भने अंक तालिकामा पाँचौ स्थानमा छ । लुम्बिनी अब लिगचरणमा एक खेल खेल्न बाँकी छ ।
आईतवारको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४९.२ ओभरमा दुई सय ४३ रनमा अलआउट भयो । आर्मीका लागि बसिर अहमदले ६ चौकाको मद्दतमा सर्वाधिक ८६ रन बनाए । यस्तै, भीम सार्कीले ४४, तृतराज दासले ३१ र कुशल मल्लले १७ रन बनाए । बलिङमा लुम्बिनीका अजय चौहानले ४, कृष्ण कार्की, निर्मल गुरुङ, रमेश कुर्मी, विप्रशन केसी, नर सार्की र कप्तान देव खनालले समान १–१ विकेट लिए ।
आर्मीले दिएको दुई सय ४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७.१ ओभरमा एक सय १२ रन बनाउँदा अलआउट भयो । उसका लगि कप्तान देव खनालले सबैभन्दा बढी ३७ रन जोड्दा अरु ब्याट्समेन सस्तैमा आउट भए । लुम्बिनीका मनिष थापा र विप्रशन केसीले १३ नर सार्कीले १२ र निर्मल गुरुङले १० रन बनाए । बलिङमा आर्मीका साहब आलमले ४, नरेन साउदले २ तथा बसिर अहम्मद, सोमपाल कामी, आकाश चन्द र नरेन साउदले १–१ विकेट लिए ।
यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ३१ रनले पराजित गर्दै अंक तालिकाको तेस्रो स्थानमा रहँदै फाइनल सम्भावना कायमै राखेको छ । अन्तिम दुई खेलअघि एपीएफको १० अंक छ । अब एपीएफलाई फाइनलमा स्थान बनाउन आर्मीले अन्तिम खेल गुमाउँदा आफूले बाँकी रहेका दुवै खेल जित्नु पर्नेछ । पुलिसले अन्तिम दुई खेल गुमाएर आफूले दुवै खेल जिते पनि एपीएफको फाइनल सम्भावना हुनेछ ।
आईतवारको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ४९.२ ओभरमा दुई सय ५८ रनमा अलआउट भयो । एपीएफका लागि ओपनिङ ब्याट्समेन आशिफ शेखले ८० रन बनाए । उनले ७४ बलमा १० चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर लोकेश बमले ४६ रन बनाए भने सुमित महर्जनले ३१ रन जोडे । बलिङमा गण्डकीका सन्दीप पराजुली र सुदिप अर्यालले ३–३ तथा कमल परियारले २ विकेट हात पारे ।
एपीएफले दिएको २५९ रनको लक्ष्य पछ्याएको गण्डकीले ८ विकेटको क्षतिमा दुई सय २७ रन मात्रै बनायो । गण्डकीका लागि अर्जुन कुमालले ३९ र दिनेश बुढामगरले ३४ रन जोडे । बलिङमा एपीएफका अभिषेक गौतमले ३ र अमरसिंह रौटेलाले २ विकेट लिए ।
यस्तै, दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा किरणकुमार ठगुन्नाको कीर्तिमानी शतकमा सुदूरपश्चिमले कोशीमाथि ३१ रनको जित निकाल्यो । प्रतियोगितामा सुदूरको यो तेस्रो जित हो । सुदूरले अन्तिम खेलअघि ८ खेलबाट ३ जित निकाल्दा कोशीले भने ८ खेलबाट १ जित मात्र दर्ता गरेको छ ।
खेलमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले किरणकुमार ठगुन्नाको शतक प्रहारमा ४३.४ ओभरमा सबै विकेट गुमाएर दुई सय ४२ रन बनायो । ९१ बलको सामना गरेका किरणले १२ चौका र ४ छक्काको मद्दतमा एक सय १५ रन बनाए । उनले एकै सिजन दुई शतक प्रहार गरेका छन् । यससँगै अघिल्लो सिजनको दुई शतक प्रहार गरेका त्रिभुवन आर्मीका क्लब कप्तान विनोद भण्डारीको कीर्तिमान बराबरी गरेका छन् । गत सिजन भण्डारीले एकै सिजन दुई शतक प्रहार गर्ने कीर्तिमान बनाएका थिए । यस्तै, टेक रावतले १६ र अर्जुन विकले १५ रन बनाए । बलिङमा कोशीका ज्ञानेन्द्र श्रेष्ठले ४ तथा फिर्दोस अन्सारी र अंकित सुवेदीले २–२ विकेट लिए ।
प्रतिउत्तरमा सुदूरले दिएको दुई सय ४३ रनको लक्ष्य पछ्याएको कोशी ४५.१ ओभरमा दुई सय ११ रनमा अलआउट भयो । कोशीका लागि शकिब हकले ६२, अंकित सुवेदी र समिर काकीले ३८ तथा आइश भट्टराईले ३६ रन बनाए । बलिङमा सुदूरका सूर्य श्रेष्ठले ३ र भोजराज भट्टले २ विकेट हात पारे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology