काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कर्मचारीबीच काम गरेर नभई प्रचारबाजी गरेर स्थापित हुने प्रतिष्पर्धा चलिरहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले कानूनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरुबीच होडबाजी चलिरहेको बताए ।
मन्त्री खड्काले प्रचारबाजी र मिडियाबाजी गरेर नभई काम गरेर स्थापित गर्नको लागि प्रतिष्पर्धा गर्न आग्रह समेत गरे । उनले कर्मचारीहरुले कानून र संविधानभन्दा माथि गएर आफूलाई स्थापित गर्न खोजेको खण्डमा सरकारले लगाम लगाएर ठिक ठाउँमा ल्याउने चेतावनी समेत दिए । उनले मर्यादा र अनुशासनभित्र बसेर काम गर्न सबै कर्मचारीको ध्यानाकर्षण गराए ।
‘कानूनभन्दा माथि बसेर, संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन । त्यो चाहीँ स्वच्छाचारी हुन्छ ।’ उनले भने, ‘साच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौं मेरो आग्रह छ । यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठिक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ ।’
मन्त्री खड्काले सरकारले स्न २०३५ भित्रमा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पु¥याउने लक्ष्यसहित काम गरिरहेको उल्लेख गरे । अबको दुई वर्षभित्रमा मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत पहुँच पु¥याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology