काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान, २०७२ त्रुटीपूर्ण रहेको भन्दै पुनःलेखन गर्नुपर्ने बताएका छन् । सोमवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष यादवले नेपाली काँग्रेस–कम्युनिष्टहरुको व्यवस्था र संविधानप्रति प्रतिवद्धता नदेखिएको कारण व्यवस्थामाथि प्रहार भइरहेको बताए ।
उनले आफैंले ल्याएको संविधानमा संघीय लोकतान्धिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरि टिक्छ ? भन्दै प्रश्न गरे । सरकारले बलियो भएर मुलुकमा सुशासन कायम गर्नसके मात्र व्यवस्था सुदृढ हुने उनको भनाइ छ । संघीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा यादवको जोड छ ।
‘काँग्रेस–कम्युनिष्टहरुको प्रतिवद्धता नदेखिनु पनि कमजोरी भएको छ । आफैं ल्याएको संविधानमा संघीय लोकतान्धिक गणतन्त्र लेख्ने तर त्यसको कार्यान्वयन नगर्ने हो भने त्यो संविधान कसरि टिक्छ ?’ उनले भने, ‘संविधानलाई संशोधन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुपर्छ । सरकार समेत बलियो भएर भ्रष्टाचार नियन्त्रण हुनुपर्छ ।’
संविधानले समावेशी राज्य व्यवस्थाको परिकल्पना गरेको भएपनि राज्यका निकायहरुमा एउटै जातजातीको हालिमुहाली रहेको अध्यक्ष यादवको आरोप छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology