काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिनुपर्ने बताएका छन् । सोमबार कानुन न्याय तथा मानवअधिकार समितिमा भएको छलफलमा सांसद यादवले लिभिङ टुगेदर अस्थायी विवाह भएकोले दर्ता समेत गर्नुपर्ने बताएका हुन् ।
उनले समितिमा भने, 'लिभिङ टुगेदरको पनि दर्ता गरियोस् । यो अस्थायी बिहे हो । चोरी-चोरीकन बस्छन् र अपराध हुन्छ। यी विषयहरूलाई क्लियर गर्नुपर्छ ।'
त्यस्तै सांसद यादवले विवाहको उमेर पनि घटाउनुपर्ने माग गरेका छन् । मुलुकी देवानी संहिता-२०७४ मा केटा र केटी दुवैका लागि विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ। यादवले समितिमा भने, 'विवाहको उमेर घटाउनै पर्छ। पहाडमा त के हो के हो मधेसमा त उमेर घटाउनै पर्छ। युरोपमा त पढ्छन् र ढिलो विवाह हुन्छ । हाम्रो मधेसमा त गरिबी छ। बढी उमेर भयो भने त गाह्रो हुन्छ। दाइजोलगायतले पनि गाह्रो हुन्छ। पढाउन गाह्रो छ।' यादवको भनाइमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले पनि समर्थन जनाएका थिए।
मुलुकी देवानी संहिता २०७४ को दफा ७४ मा यस्तो कानुनी व्यवस्था छ, शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिनेः (१) दफा ६९ को उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पुरुषसँगको शारीरिक सम्पर्कबाट महिलाले गर्भधारण गरी शिशु जन्मिएको प्रमाणित भएमा त्यस्तो पुरुष र महिला बीच स्वतः विवाह भएको मानिनेछ।'
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology