काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्न सक्ने बताएका छन्। शुक्रवार काठमाडौंमा सञ्चारिका समूहले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालमा सञ्चालन भइरहेका फेसबुक, मेटा, गुगल, टिकटकजस्ता सामाजिक सञ्जालका सञ्चालकहरूले तोकिएको समयसीमा सकिन लाग्दा समेत नेपालमा दर्ता नगरेको भन्दै कडा आलोचना गरे।
मन्त्री गुरुङले नेपालको संविधान, ऐन र कानूनअनुसार समयमै दर्ता नगरेमा ती प्लेटफर्महरूमाथि प्रतिबन्ध लगाउन सकिने स्पष्ट संकेत दिए। उनले भने, "हामीले सामाजिक सञ्जालको प्रयोग र सञ्चालनको नियमन गर्ने विधेयक ल्याएका छौँ। त्यो विधेयक राष्ट्रिय सभामा मैले प्रस्तुत गरिसकेको छु, तर बीचमा रोकिएको छ। किन रोकिएको भन्ने सबैलाई थाहा छ। मेटा, गुगल, टिकटक जस्ता कम्पनीहरूले नेपालको संविधान मान्ने कि नमान्ने? यहाँ दर्ता हुने कि नहुने? जुन कन्टेन्ट यिनीहरूले पस्कन्छन्, त्यसबाट राष्ट्रिय एकता र स्वाधिनतामा असर पर्छ भने त्यसलाई नियमन गर्नुपर्छ भन्ने कुरा हो।"
मन्त्री गुरुङले विदेशी कम्पनीहरू नेपाल सरकारलाई नै बेवास्ता गर्दै आएको टिप्पणी गरे। मेटाले फेसबुक, मेसेन्जर, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता प्लेटफर्म चलाउँछ तर दर्ता गर्न नआएको भन्दै उनले आक्रोश व्यक्त गरे। "सरकारले पटक–पटक सूचना दिँदा पनि दर्ता गर्न कोही आएको छैन," उनले भने, "यदि आउँदैन भने प्रतिबन्ध लाग्छ, मैले भनेको छु।"
उनका अनुसार सरकारले यसअघि तीन महिनाको सूचना जारी गरेर दर्ताका लागि आह्वान गरिसकेको थियो। अहिले एक महिनाको अन्तिम सूचना पनि सकिन लागेको छ तर मेटालगायतका कम्पनीले कुनै चासो देखाएका छैनन्। "उनले घमण्ड गर्छन्, हाम्रो जिडिपीभन्दा धेरै छ, हाम्रो बजेटभन्दा बढी छ भनेर," मन्त्री गुरुङले भने, "तर यो अहंकार भयो भने हामी रोक्दैनौं, प्रतिबन्ध लगाउँछौं।"
मन्त्री गुरुङले सामाजिक सञ्जालबाट फेक आइडी बनाएर समाजमा विकृति फैलाइएको, जातीय सद्भाव भड्काइएको, धार्मिक सहिष्णुतामा खलल पुर्याइएको उल्लेख गरे। उनले सामाजिक सञ्जालको नियमन प्रेस स्वतन्त्रता कुण्ठित गर्ने नियत होइन भन्ने प्रस्ट पारे।
उनले भने, "फेक आइडी बनाउने, मनपरी लेख्ने, समाजिक सद्भाव बिगार्ने, धार्मिक असहिष्णुता बढाउने प्रवृत्तिको अन्त्य गर्नुपर्छ। यसले समाजमा हिंसा र द्वन्द्वलाई बढावा दिएको छ। प्रेस स्वतन्त्रताको नाममा सबैथोक सह्य हुँदैन।"
धार्मिक सहिष्णुताको सन्दर्भमा उनले नेपाललाई अनुपम उदाहरणका रूपमा उल्लेख गरे। "१२४ भन्दा बढी भाषाभाषी बसोबास गर्ने देश नेपाल विविधतामा एकताको नमुना हो," उनले भने, "यही एकता र सद्भावलाई भत्काउन सामाजिक सञ्जालमार्फत विदेशी शक्तिहरूले प्रहार गरिरहेका छन्। नेपालीलाई कमजोर बनाउन खोजिएको छ।"
मिडिया काउन्सिल विधेयकसम्बन्धमा उनले सो विधेयक पत्रकार महासंघलगायत सम्पूर्ण पत्रकार सङ्गठनसँग छलफल गरेर अगाडि बढाउने बताए। सामाजिक सञ्जाल नेपालमा दर्ता नभएकै कारण विधेयक रोकिएको उल्लेख गर्दै उनले विधेयकको अवरोधको पछाडि को को छन् भन्ने सबैलाई थाहा भएको टिप्पणी गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology